वासिङ्टन, भदौ ५ गते । अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ ।
सेवानिवृत्त रोड आइल्यान्ड न्यायाधीश क्याप्रियोले सन् २०२३ मा अवकास लिनुअघि करिब चार दशकसम्म बेन्चमा सेवा गर्नुभएको थियो । साना कानुनी उल्लङ्घनमा उहाँको सहानुभूतिपूर्ण दृष्टिकोणले उहाँलाई विशेष बनाएको थियो । “प्यानक्रिएटिक क्यान्सरसँग लामो र साहसी सङ्घर्षपछि परिवार र साथीको घेरामा मेरा पिता न्यायाधीश फ्रान्क क्याप्रियोको निधन भएको समाचार साझा गर्दा म गहिरो दुःखी छु”, उहाँका छोरा डेभिड क्याप्रियोले बुधबार न्यायाधीशको इन्स्टाग्राम खातामा पोस्ट गरिएको भिडियोमा भन्नुभयो ।
उहाँको परिवारले जारी गरेको विज्ञप्तिमा क्याप्रियो ‘गहिरो करुणा, नम्रता र मानवतामा अटुट विश्वासका कारण संसारभर प्रिय बन्नुभएको’ र ‘मानवताको उत्कृष्ट उदाहरण’ हुनुभएको उल्लेख छ । मङ्गलबार अस्पतालको शय्याबाट स्वास्थ्यमा ‘गम्भीर समस्या’ आएको भन्दै उहाँले प्रार्थना माग्दै भिडियो पनि पोस्ट गर्नुभएको थियो । सन् २००० मा सुरु भएको उहाँको कोर्टरुम रियालिटी टिभी कार्यक्रम ‘क्याच इन प्रोभिडेन्स’ मा ट्राफिक उल्लङ्घन र पार्किङ टिकटसँग जुधिरहेका व्यक्तिप्रति उहाँले देखाएको दयालु व्यवहारलाई दर्शाइएको थियो ।
सो कार्यक्रमका क्लिप सामाजिक सञ्जालमा भाइरल भए । त्यहाँ प्रायः उहाँले सङ्घर्षरत परिवारको जरिवाना खारेज गरेको वा बालबालिकालाई आफ्ना आमाबाबुको सजाय निर्णयमा सहभागी हुन दिएको देखिन्थ्यो । उहाँले सामाजिक सञ्जालमा लाखौँ अनुयायी प्राप्त गर्नुभयो । तिनीले उहाँलाई ‘संसारको सबैभन्दा राम्रो न्यायाधीश’ भनेर सम्बोधन गरे । क्याप्रियोले ‘कम्प्यासन इन द कोर्टः लाइफ-चेन्जिङ स्टोरिज फ्रम अमेरिकाज नाइसेस्ट जज’ शीर्षकमा आत्मकथा पनि प्रकाशित गर्नुभएको थियो ।
सन् १९३६ मा जन्मिएका क्याप्रियो प्रोभिडेन्स, रोड आइल्यान्डमा हुर्किनुभएको थियो । आफ्नो प्रारम्भिक जीवनमा उहाँले जुत्ता पालिस गर्ने र पत्रिका वितरण गर्ने जस्ता काम गर्नुभएको थियो । बोस्टनको सफोक युनिभर्सिटी स्कुल अफ लमा अध्ययन गर्दा उहाँ दिनमा स्कुल शिक्षकको रूपमा काम गर्नुहुन्थ्यो । अन्ततः सन् १९८५ देखि २०२३ सम्म प्रोभिडेन्स नगरपालिका अदालतको मुख्य न्यायाधीशको रूपमा सेवा गर्नुभयो ।
रोड आइल्यान्डका गभर्नर डान म्याकीले क्याप्रियोलाई ‘न्यायविद् मात्र नभई सहानुभूतिका प्रतीक’ भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले हामीलाई जब न्याय मानवतासँग मिसिन्छ, तब असाधारण सम्भावनाहरू खुल्छन् भनेर देखाउनुभयो ।” गभर्नरले न्यायाधीशको सम्झनामा राज्यको झण्डा आधा झुण्ड्याउने आदेश पनि दिनुभएको छ । उहाँको परिवारले भनेको छ, “उहाँलाई एक सम्मानित न्यायाधीश मात्र नभई मायालु पति, बुबा, हजुरबुबा र साथीका रूपमा पनि सधैँ सम्झिनेछौँ ।” रासस/एएफपी