काठमाडौँ, भदौ ५ गते । सरकारको समर्थनमा रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ कमिटीका संयोजक ध्रुबबहादुर प्रधानले आठ महिनादेखि अवरुद्ध रहेको नेपाल ओलम्पिक कमिटीको भवनमा प्रवेश गरेर कामको थालनी हुनु पहिलो सफलता भएको बताउनुभएको छ ।
तदर्थ कमिटीद्वारा बिहीबार एनओसी मुख्यालय सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा प्रधानले ओलम्पिकको स्थापित मुल्य र मान्यतालाई मिचेर आफुखुसी ढङ्गले ओलम्पिकलाई प्रयोग गरिएकोले आफु मानार्थ अध्यक्ष भए पनि पुन: तदर्थ कमिटीको संयोजकको जिम्मेवारीमा फर्कनु परेको बताउनुभयो ।
‘‘नेपालमा ओलम्पिक चाटर्डअनुसार चल्नुपर्छ र स्वायक्त खेल सङ्घहरूकै प्रतिनिधिबाट बनाइनु पर्छ भन्ने मान्यता मेरो सँधै रहेको छ । तर जीवनराम श्रेष्ठको कमिटीले स्थापित मुल्य र मान्यतालाई कुल्चिएर मनोमानी नियम बनाउन लागियो । सरकार, देशको अदालत र ओलम्पिककोसमेत भावनाविपरित भई रहेको नकारात्मक कामलाई हेरेर बस्न सकिएन,’’ प्रधानले भन्नुभयो ।
उहाँले विस्तारै ओलम्पिक गतिविधि सञ्चालन गर्दै नेपाली खेलाडीलाई खेल्ने वातावरण बनाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त २३ वटा सङ्घको तदर्थ कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र एसियन ओलम्पिक काउन्सिल (ओसिए) ले पनि साथ दिने छ । यसका लागि विस्तारै वातावरण वन्ने विश्वास छ ।’’
पत्रकार सम्मेलनमा एनओसीमा आबद्ध २३ वटा सङ्घ मिलेर बनेको कमिटीको सदस्यहरूको नाम पनि सार्वजनिक गरिएको छ । प्रधान संयोजक रहेको कमिटीको सदस्यहरूमा राजिवविक्रम शाह, समिम मियाँ अन्सारी (प्रवक्ता), सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, बृजेन्द्र हमाल र रवि राजाकर्णिकार हुनुहुन्छ ।
तदर्थ कमिटीले एनआसीको कार्यक्रमलाई अगाडि बढाउन चारवटा समन्वय उपसमिति पनि गठन गर्दै आगामी कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
यसअघि जीवनराम श्रेष्ठको अध्यक्षतामा अनलाइनमार्फत निर्वाचित एनओसीलाई नेपाल सरकारले अवैधानिक घोषणा गर्दै मान्यता नदिने बताउँँदै आएको छ ।
तदर्थ कमिटीको आगामी कार्यक्रम
–तदर्थ कमिटी गठनबारे आइओसी, ओसीए तथा सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराई समन्वय गर्ने ।
–समस्या समाधानका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, सदस्य खेल सङ्घ, खेलाडी, खेलकर्मी र सरोकारवालासँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने ।
–ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्ने ।
–जापानमा हुने २०औँ एशियाली खेलकुदमा नेपालको सहभागिताका लागि परिषद् र सङ्घहरूसँग समन्वय गरी खेलाडी छनोट तथा विशेष प्रशिक्षणको तयारी गर्ने ।
–एनओसीसँग आवद्ध खेल सङ्घहरूको समस्या समाधानका लागि पहल गर्ने ।
–विधानअनुसार साधारण सभाबाट निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढङ्गले निर्वाचन गराई नयाँ नेतृत्व चयन गर्ने ।