• ५ भदौ २०८२, बिहिबार

मुक्तिपछि कम्लहरीहरुको छलाङ

blog

सन्तोष दहित

दाङ, भदौ ५ गते । कुनैबेला जमिनदारका भाँडाकुँडा माझ्दै, विहानदेखि साँझसम्म खटिएका ती हातहरू अहिले देशकोे कानुन लेख्ने तहसम्म पुग्न सफल भएका छन् । जमिन्दार र उनका परिवारका मैलिएका लुगा धुने सुकिला औँलाहरू अहिले विरामी भएका विमारीहरुको रोग पहिचान गरिरहेका छन् । 

कहिल्यै स्कूल नदेखेको मुक्त कम्लहरीहरु अहिले अक्षर चिनाउने ज्योतिको आँखा बनिरहेका छन् । कम्लरीबाट मुक्त भएपछि मुक्त कम्लहरीहरु शिक्षक, वकिल, प्रहरी, जेटिए, अमिन, अनमी, सवओभरसियरदेखि स्थानीय सरकारको जनप्रतिनिधि, प्रदेशसभाका सदस्य, प्रतिनिधि सभाको सदस्यसम्म बन्न सफल भए । 

हिजो आफ्नै आँसु पुछ्न नसक्ने ती आँखाहरू अहिले सहकारीमार्फत मुक्त कम्लहरीको भविष्यको नक्सा कोर्दैछन् । पिंजडामा थुनिएको सपना अब पखेटा फैलाउँदै आकाशको चौडाइ नाप्न थालेको छन् । 

दाङ राजपुर गाउँपालिका –४ दुलैयीकी गीता चौधरी ९ बर्षको उमेरमा कम्लहरी बस्न बाध्य हुनुभयो । घरको आर्थिक अवस्था दयनीय भएकाले उहाँलाई जिल्लाकै एक जमिन्दारको घरमा कम्लहरी बस्नुभयो । विहान ५ बजेदेखि राति ९ बजेसम्म जमिन्दारको परिवारका लुगा धुनेदेखि जुठा भाँडा माझ्ने, घर सरसफाई गर्नेमा उहाँको दैनिकी थियो । 

यसरी मालिकको कम्लहरी बस्नेमा गीता एक्लै मात्र होइन, घरको आर्थिक अवस्था दयनीय रहेको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायका सयौं चेलीहरु जमिन्दारको घरमा कम्लहरी बस्न बाध्य थिए । ती कम्लहरी (बालिका) हरुको उद्धारका लागि एवं दासता प्रथा उन्मुलनका लागि दाङमा एक गैरसरकारी संस्था तत्कालीन एफएनसी, (हाल नायफ नेपाल) सक्रिय थियो ।  

सो संस्थाले २०५६ माघ महिनादेखि दाङको साविक गोबरडिहा –१, स्थित खैरा गाउँबाट कम्लहरी उन्मुलनको अभियान सुरु गरेको थियो । गोबरडिहाको खैरागाउँबाट सुरु भएको कम्लहरी उद्धार अभियानको आगोको झिल्कोले विस्तारै एक गाउँबाट अर्काे गाउँ हुँदै गाविसबाट जिल्लासम्म यसको आगो सल्कियो । 

त्यही अभियानमा गीता चौधरी २०६० माघमा कम्लहरीबाट मुक्ति पाउनुभयो । कलिलै उमेरमा झण्डै साढे तीन बर्ष कम्लहरीको दासताको जीवन विताउनुभएकी गीता कम्लहरीबाट मुक्त भएपछि सोही संस्थाको सहयोगमा दुई महिना व्रिज कक्षा लिनुभयो । त्यसपछि उहाँ २०६१ मा कक्षा ५ मा भर्ना हुनुभयो । 

आइएसम्म अध्ययन गर्नुभएका गीता अहिले दाङस्थित राजपुर गाउँपालिकाका उद्यम विकास सहजकर्ताको जिम्मेवारीमा हुनुहुन्छ । दुई बर्ष मुक्त कम्लरी विकास मञ्च संस्थामा काम गरेकी गीत २०७७ देखि राजपुर गाउँपालिकामा काम गर्दै आउनुभएको छ ।

यस्तै, राप्ती गाउँपालिका –५ पहरुवाकी मिना चौधरी पनि ४ बर्ष कम्लहरी जिवन बिताउनुभयो । उहाँ पनि सानै उमेरमा छिमेकी गाउँको जमिन्दारको घरमा कम्लहरी बस्न बाध्य हुनुभयो । २०६० माघमा एफएनसी संस्थाले मिनालाई जमिन्दारको घरबाट उद्धार गरेर दुई महिना व्रिज कक्षा दियो । सोही संस्थाको सहयोगमा मिना २०६१ वैशाखमा कक्षा ४ मा भर्ना हुनुभयो । 

स्कूलको अनुहार नदेखेकी मिना एकै पटक कक्षा ४ मा भर्ना भए पनि उहाँले पढाइमा मेहनत गर्नुभयो । स्नातक तहमा अध्ययनरत मिना अहिले गढवा गाउँपालिका कार्यालयमा उद्यम विकास सहजकर्ताको रुपमा जिम्मेवारीमा हुनुहुन्छ । २०७७ पुस १ देखि उहाँ गाउँपालिकाका नागरिकलाई उद्यमी बनाउनमा सहयोग गर्दै आउनुभएको छ । मिना अहिले गाउँपालिकाको सबैको प्रिय कर्मचारीको रुपमा परिचित बन्नुभएको छ ।

त्यस्तै, कम्लहरीबाट मुक्त भएपछि घोराही उपमहानगरपालिका –१२ की कमला चौधरी जेटिए हुनुहुन्छ । उहाँ प्रभाइभेट एग्रोेभेट खोलेर एग्रोभेट सञ्चालनसँगै मुक्त कम्लहरीहरुको कृषि खेतीलाई सहयोग गर्दै आउनुभएको छ । नारायणपुरमा एग्रोभेट सञ्चालन गर्दै आउनुभएका कमला अहिले स्थानीय किसानहरुको लागि प्रेरणाको स्रोत बन्नुभएको छ । 

‘पढेपछि अनेक अवसर आउने रहेछ, उहाँले भन्नुभयो्, ‘पहिले मुक्त कम्लरीले पढेर के काम पाइला र भन्ने लाग्थ्यो, तर, त्यस्तो हुने रहेनछ । ६ बर्ष कम्लरी जीवन बिताएकी लक्ष्मी चौधरी अहिले सहकारी सस्थाको नेतृत्व गर्दै आउनुभएको छ । अनमीको अध्ययन गर्नुभएका लक्ष्मी पाँच बर्षसम्म तुलसीपुर मानपुर स्वास्थ्य केन्द्रमा अनमीको रुपमा काम गर्नुभयो ।

अहिले अनमीको जागिर छोडेर उहाँ मुक्त कम्लरीहरुले खोलेको गन्यारी सहकारी संस्था चलाइ रहनुभएको छ । लक्ष्मीले आफ्नो सहकारीमा ४८५ जना सदस्य रहेको जानकारी दिनुभयो । सहकारीमा मुक्त कम्लरी, मुक्त कम्लरीका परिवार तथा विपन्न परिवारका सदस्यहरु आवद्ध रहेको उहाँले बताउनुभयो । 

‘हामीले कृषि र व्यवसायमा लगानी गरेका छौ, उहाँले भन्नुभयो्, “अहिले हाम्रो सहकारी संस्थाले अहिले एक करोड लगानी गरेको छ, हामीले मुक्त कम्लहरी परिवार तथा विपन्न परिवारलाई सहुलियतमा ऋण उपलब्ध गराएका छौं ।’

माथिका पात्रहरु त उदाहरण मात्र हुन् । यसरी कम्लहरीबाट मुक्त भएपछि शिक्षक, वकिल, पुलिस, जेटिए, अमिन, अनमी, सवओभरसियरदेखि स्थानीय सरकारको जनप्रतिनिधिदेखि प्रदेशसभाका सदस्य, प्रतिनिधिसभाको सदस्यसम्म बनेका छन् । सरकारले २०७० असार १३ गते कम्लहरी मुक्त घोषणा गरेपछि दाङ, वाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट १२ हजार ७६९ कम्लहरी मुक्त भएका थिए ।