• ५ भदौ २०८२, बिहिबार

चर्च ब्वाइजको दोस्रो जित

blog

काठमाडौँ, भदौ ५ गते । चर्च ब्वाइज युनाइटेड एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई १–० गोलले हरायो । चर्च ब्वाइजको जितमा सुजता पालुङग्वाले ७६ओँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । 

जितसँगै समूह ‘ए’ मा रहेको चर्च ब्वाइजले ६ अङ्क बनाएको छ । पहिलो हार खेपेको आरएस रिसोर्टको समा खेलबाट तीन अङ्क छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।  

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।