याङ्गुन, भदौ ५ गते । म्यान्मारको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतिक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको छ । सेनाले पहिलो चरणको मतदानमा करिब एक तिहाइ जनसङ्ख्या समेटिने बताएको छ । सैन्य नेतृत्वले यसै हप्ता चुनाव चरणबद्ध रूपमा गरिने घोषणा गरेको थियो ।
पहिलो चरण डिसेम्बर २८ देखि सुरु हुने छ । सेनाले यसलाई युद्धको थकानबाट उद्धारको उपायका रूपमा प्रस्तुत गरेको छ । म्यान्मारमा सन् २०२१ को विद्रोहपछि सेनाले सत्ता कब्जा गरेदेखि देश लगातार द्वन्द्वमा परेको छ । तर, अझै पनि देशका धेरै क्षेत्र सेनाको नियन्त्रणबाहिर रहेका छन् । लोकतान्त्रिक नेत्री आङ सान सुकी जेलमा हुनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घका एक विज्ञले यो निर्वाचनलाई निरन्तर सैनिक शासनलाई लुकाउन गरिएको ‘धोखाधडी’ भनेका छन् । सेनाले पूर्ण चुनावी तालिका अझै तय गरेको छैन । तर, राज्य सञ्चालित मिडियामा प्रकाशित सूचनाअनुसार पहिलो चरणको मतदान म्यान्मारका तीन ३० टाउनसिपमध्ये एक सय दुईमा हुने छ ।
यसमा राजधानी नेपिडोका सबै बस्ती, व्यावसायिक राजधानी र सबैभन्दा ठुलो सहर याङ्गुनसहित करिब २५ लाख जनसङ्ख्या भएका क्षेत्रमा मतदान हुने उल्लेख छ । तर, ग्लोबल न्यु लाइट अफ म्यानमारमा प्रकाशित विवरणले अझै पनि विद्रोहीहरूसँग सङ्घर्ष भइरहेका क्षेत्रमा सेनाले चुनाव गराउने ठुलो महत्त्वाकाङ्क्षा नराखेको भन्ने देखाउँछ ।
जस्तै, पश्चिमी राखाइन राज्यमा स्थानीय जातीय सशस्त्र समूह अराकान सेनाले लगभग सम्पूर्ण नियन्त्रण लिएको छ । त्यहाँका १७ मध्ये केवल तीन टाउनसिपमा मात्र पहिलो चरणमा मतदान हुने छ । त्यस्तै, उत्तरको सागिङ क्षेत्र प्रजातन्त्र समर्थक गुरिल्लाको मुख्य गढ मानिन्छ । त्यहाँ पनि जम्मा एक तिहाइ क्षेत्रमा मात्र मतदान हुने छ । जुन्ताले बाँकी चरणको मिति घोषणा गरेको छैन, न त कुन बस्तीमा मतदान हुने छ भन्ने स्पष्ट पारेको छ ।
सन् २०२० को अन्तिम आमनिर्वाचनमा सुकीको पार्टीले ठुलो बहुमतले जितेको थियो । त्यसपछि सेनाले अप्रमाणित धाँधलीको आरोप लगाउँदै उहाँको सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो । हालैका हप्ताहरूमा सेनाले आफ्ना विरोधीविरुद्ध साना-साना सैन्य सफलता पाएको दाबी गरेको छ । यसले चुनावअघि भूमि पुनः नियन्त्रणमा लिन खोजिरहेको छ । यस्तै, सेनाले निर्वाचनको आलोचना गर्ने वा प्रदर्शन गर्नेहरूलाई १० वर्षसम्म जेल सजाय दिने कानुन पनि ल्याएको छ । रासस/एएफपी