• ५ भदौ २०८२, बिहिबार

पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो

blog

काठमाडौँ, भदौ ५ गते । पद्मकन्या बहुमुखी क्याम्पसले कविता प्रतियोगिता आयोजना गरी १६० औँ मोतीजयन्ती मनाएको छ । क्याम्पसको ७५ औँ हीरकजयन्तीको अवसर परेर आज यहाँ मोतीराम भट्टको १६० औँ मोतीजयन्ती, नेपाली स्नातकोत्तर कार्यक्रमको ३६औँ वार्षिकोत्सव तथा अवकाशप्राप्त प्राध्यापक सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली विभागमा तीन दशक लामो प्राध्यापन यात्रा पूरा गरी निवृत्त हुनुभएकी उपप्राध्यापक उपमा आचार्यलाई सम्मान गरिएको छ । नेपाली विभागका विभागीय प्रमुख एवं उपप्राध्यापक डा. अम्बिका अर्यालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । 

सहप्राध्यापक डा. शैलेन्दुप्रकाश नेपालले भन्नुभयो, “३० वर्ष बाँची माध्यमिककालमा नेपाली साहित्य र शृङ्गारिक धारलाई स्वर्णिम तुल्याउन विशिष्ट भूमिका निर्वाह गर्नुहुने मोतीराम भट्ट भानुभक्तको कवित्वका पर्याय हुनुहुन्थ्यो । भट्टको जन्मोत्सव र नेपाली भाषा, साहित्यलाई हुर्काउन, संरक्षण गर्न र सोही क्षेत्रमा लाग्नसक्ने दक्ष जनशक्ति निर्माण गर्ने अभिप्रायका साथ स्थापित नेपाली स्नातकोत्तर कार्यक्रम पद्मकन्या क्याम्पसको विशेष र ऐतिहासिक कार्यक्रम हो ।”  

तत्कालीन क्याम्पस प्रमुख चेतोनाथ गौतमसहित प्राज्ञिक व्यक्तिहरूको पहलमा नेपाली स्नातकोत्तर कार्यक्रम ३६ वर्षअघि भदौ ५ गते स्थापना गरिएको थियो । विसं २०४८ देखि स्नातकोत्तर कार्यक्रममा प्राध्यापन प्रारम्भ गरी वर्तमान समयसम्म अविच्छिन्न अध्यापनमा संलग्न रहनुभएकी सहप्राध्यापक प्रभा भट्टराईले प्रारम्भिककालीन शिक्षण अनुभूति स्मरण गर्दै पद्मकन्या नारी सशक्तीकरणका लागि स्थापित क्याम्पस हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “मैले स्नातकोत्तर उत्तीर्ण गर्नेवित्तिकै तत्कालीन क्याम्पस प्रमुख चेतोनाथ गौतमको आग्रहमा पढाउन सुरु गरेँ । काकी, दिदी उमेरका विद्यार्थी पछि साथीसरह भएपछि केही सहज हुँदै गयो । नारी सशक्तीकरण गर्ने उद्देश्यले महिलाका लागि खोलिएको एक मात्र क्याम्पस पद्मकन्यामा अध्यापन गर्न पाउनु गर्वको विषय थियो । नारी शिक्षाको पहिलो पाइलो चाल्ने यो शिक्षा मन्दिरले ७५औँ वर्षको वसन्त देखिसकेको छ ।” 

हीरकजयन्तीका अवसरमा यही भदौ २ गते निबन्ध, ३ गते वक्तृत्वकला, ४ गते हाजिरीजवाफ र आज कविता प्रतियोगिता सञ्चालन गरिएको हीरकजयन्ती साहित्यिक उपसमितिका संयोजक सहप्राध्यापक डा. बलदेव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सप्ताहव्यापी साहित्यिक कार्यक्रम सम्पन्न गरी हीरकजयन्ती मनाउन लागिएको हो ।

हरेक दिन दर्जनौँ विद्यार्थीको उत्साहपूर्ण उपस्थिति रहेको साहित्यिक कार्यक्रमअन्तर्गत निबन्ध प्रतियोगितामा रचना सापकोटा (प्रथम), केशीस शाह (द्वितीय) र अस्मिता कुमारी माझी (तृतीय) भएका अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वक्तृत्वकला प्रतियोगितामा पार्वती बानियाँ (प्रथम), ईशा ढुङ्गाना र आस्था श्रेष्ठ (द्वितीय) र सिर्जना तामाङ (तृतीय) भएका छन् ।

हाजिरीजवाफ प्रतियोगितामा मनीषा यादवको समूह (प्रथम), अनामिका रेग्मीको समूह (द्वितीय) र समीक्षा पौडेलको समूह (तृतीय) हुनुका साथै आज भएको कविता प्रतियोगितातर्फ पुस्तिका भण्डारी (प्रथम), समीक्षा नेपाल (द्वितीय) र कमला महत (तृतीय) भएका उहाँले बताउनुभयो ।

आजको कार्यक्रममा क्याम्पस प्रमुख प्राडा जयालक्ष्मी प्रधान, प्राडा सुष्मिता तालुकदार, सहप्राडा नेपालसहित क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको क्याम्पस प्रशासनले जनाएको छ । विसं २००८ मा महिलाका लागि अध्ययन अध्यापन गराउने उद्देश्यले स्थापित पद्मकन्या बहुमुखी क्याम्पसले आफ्नो हीरकजयन्ती आगामी असोज १ गते स्थापना दिवसको दिन विशेष समारोहको आयोजना गरी मनाउँदैछ ।