काठमाडौं, भदौ ४ गते । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको बताउनुहुँदै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आज 'तमू कए' नामक गुरुङ भाषाकाे पत्रिका लोकार्पण गर्ने कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले बसाइँसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताउनुभएकाे हाे ।
"कुनै पनि समुदायको अस्तित्व र संस्कृतिमा मातृभाषाकाे ठूलाे भूमिका हुन्छ । तर गुरुङ समुदायकाे मातृभाषा नै लाेप हुने खतरा बढेकाे छ । यसकाे संरक्षणमा चनाखो हुनैपर्ने स्थिति आएको छ," मन्त्री गुरुङले भन्नुभयाे ।
“गाउँगाउँबाट र घरघरबाट भाषा संरक्षणकाे अभियान सुरु गर्न जरुरी छ । कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उहाँले भन्नुभयो,“तमू भाषा संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।”
प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकोमा मन्त्री गुरुङ सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय नै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर,वास्तविक भाषा संरक्षण घरबाटै सुरु हुनुपर्छ ।”
उहाँका अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था ल्याउनुको मूल कारण पनि समाजमा समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु हो । सङ्घीय शासन प्रणालीमा सबैको स्वामीत्व महसुस गराउने उद्देश्यले आरक्षण, समावेशी नीति ल्याएको भए पनि गुरुङ समुदायले यो अवसरलाई भरपुर प्रयोग गर्न चुकेको गुनासो मन्त्री गुरुङले गर्नुभयो । उहाँले संविधानले दिएका समावेशीका अवसरहरुलाई प्रयोग गरेर राज्यको मूलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदै आएको बताउनुभयो । साथै जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गरेको र त्यसमा गुरुङ समुदायकाे अत्यन्त न्यून उपस्थिति रहेको यथार्थ पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अरु समुदाय जस्तो गुरुङ समुदायकाे निजामती सेवामा न्यून उपस्थिति छ । जुन दु:खद छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताउनुभयो । यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषामध्ये जम्मा चार भाषाका मातृभाषा पत्रिका अहिलेसम्म प्रकाशन भएको बताउनुभयो ।
'तमू कए' पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपिमा उतार्न निकै चुनौती खेप्नुपरेको अनुभव सुनाउनुभयो । पत्रिकामा गाउँघरमा बोलिने, ठेट भाषा र त्यहाँका कला संस्कृति समेटिएको उहाँले बताउनुभयो ।
उहाँले 'तमू कए' मा गुरुङ समुदायकाे चिनारीसँगसँगै गीत र मुक्तक समावेश भएकाे जानकारी गराउनुभयाे । "यसमा विभिन्न गुरुङ समुदायमा बाेलिने भाषा समेटिएका छन् । याे गुरुङ भाषा बचाउनका लागि गरिएकाे एक पहलकदम पनि हाे," उहाँले भन्नुभयाे ।