राधा लुइटेल
फिदिम, भदौ ४ गते। पाँचथरमा निर्मित ७० मिटर लामो बेलिब्रिज उद्घाटन भएको छ। बेलिब्रिजको उद्घाटन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा गर्नुभयो।
बाढीका कारण पटकपटक पुल बग्ने र भाँचिने समस्यापश्चात भारत सरकारको सहयोगमा बेलिब्रिज जडान गरिएको हो। पुलको पूर्वाधार निर्माण र जडान कार्य सङ्घीय सरकार मातहतको सडक डिभिजन इलाममार्फत भएको हो।
पुल उद्घाटन गर्दै मन्त्री दाहालले विकासका चरणलाई बाढी पहिरो र प्राकृतिक विपतले धक्का दिने गरेको स्मरण गर्दै हेवामा दोहोरिएका विपदलाई एउटा उदाहरणका रूपमा लिन सकिने टिप्पणी गर्नुभयो।
‘भत्किएका संरचना पुनः निर्माण गर्नु पनि विकासको निरन्तरता हो, बाढी पहिरो र विपदबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणसँगै पीडितको पुनः स्थापना सरकारको प्राथमिकता हो’, मन्त्री दाहालले भन्नुभयो।
मन्त्री दाहालले हेवा खोलामा बेलिब्रिज जडान गर्ने क्रममा जेठ ३१ गते ज्यान गुमाएका तीन जना श्रमिकको परिवारलाई क्षतिपूर्ती र घाइते तीन जनालाई उपचार खर्च उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विपदमा परेको छिमेकीको हात समातेर उठाने दायित्त्व छिमेकीकै रहेकाले नेपाल सरकारको अनुरोधलाई स्वीकार गर्दै ५० करोड बराबरका १० वटा पुल उपलब्ध गराएको जानकारी दिनुभयो। ‘भारत नेपालको असल छिमेकी हो, हामीले छिमेकीको धर्म निर्वाह गरेका हौं’, उहाँले भन्नुभयो।
हेवा खोलाका लागि मोड्युल ब्रिज भारत सरकारले निःशुल्क उपलब्ध गराएको हो। पुल भारतबाट आएका २१ सहित नेपालका प्राविधिकले ११ दिन लगाएर जडान गरेका हुन्।
पुल जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले तीन करोड ५० लाखमा ठेक्का लिएको थियो।
पहिलो पटक हेवा खोलाको पक्की पुल २०८० साल असार–२ बाढीले बगाएको थियो। त्यसपछि बनेको बेलिब्रिज २०८१ असोज १२ गते बाढीले बगाएको थियो। पुनः जडान थालिएको अर्को बेलिब्रिज गत जेठ ३१ गते जडानको काम सम्पन्न नहुँदै भाँचिदा तीन जना श्रमिकको मृत्यु भएको थियो। दुर्घटनामा थप तीन जना घाइते भएका थिए।
बेलिब्रिज उद्घाटन भएसँगै सवारी आवागमनका लागि अनुमति दिइएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। पुल सञ्चालनमा आएपछि मेची राजमार्ग भएर झापा–इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म पुग्ने सवारी र ढुवानी सञ्चालन गर्न सहज हुने छ।
हेवा खोलामा निर्मित बेलिब्रिजको रिबन काटेर उद्घाटन गर्नुहुँदै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तव।