• ४ भदौ २०८२, बुधबार

राप्ती एफसीको पहिलो जित

blog

बल खोस्ने प्रयास गर्दै राप्ती र आरएस रिसोर्टका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ ४ गते । राप्ती एफसीले एन्फा महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा राप्तीले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब सिन्धुपाल्चोकलाई १–० गोलले हरायो । राप्तीको कठिन जितमा मेनुका आलेमगरले ५३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । 

जितसँगै राप्तीले दुई खेलबाट तीन अङ्क बनाएको छ । लगातार दोस्रो हार खेपेको आरएस रिसोर्टले अङ्कको खाता खोल्न सकेको छैन । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।  

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।