नवीन सुवेदी
कास्की, भदौ ४ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दक्ष जनशक्ती पर्यटन क्षेत्रको महत्त्वपूर्ण अङ्ग रहेको बताउनुभएको छ।
ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिमको समापनमा मुख्यमन्त्री पाण्डेले नेपालको प्रचार प्रसार र प्रवर्धनमा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइडले राजदूतको भूमिका खेल्न सक्ने बताउनुभएको हो। उहाँले ट्रेकिङ रुट माँसिदै गएकाले सरकारले वैकल्पि रुट निर्माणका लागि बजेटको व्यवस्थापन गरेको जानकारी दिनुभयो।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले तालिम प्राप्त पछि बजारमा दक्ष जनशक्ति आउनु खुसीको कुरा रहेको बताउनुभयो। प्रदेशको राजधानी भएकाले हामीले धेरै काम गर्न बाँकी रहेकाले सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बस्यालले बताउनुभयो।
पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले ट्रेकिङ रुटहरू मासिएकाले पर्यटकलाई कहाँ लैजाने भन्ने रणनीति बनाउनुपर्ने बताउनुभयो।
नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पदयात्राका लागि दक्ष जनशक्ति आवश्यक हुने बताउनुभयो।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) का विभागीय प्रमुख अजय ढकालले तालिमबाट दक्ष जनशक्ति उत्पादन भएको र गण्डकी प्रदेशमा पदयात्रा व्यवसायमा थप परिस्कृत भएको बताउनुभयो। टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ट्रेकिङमा जाने पर्यटकका लागि अनिवार्य ट्रेकिङ गाइडको व्यवस्थालाई लागु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम) को सहकार्यमा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवर्धनमा पोखरा-६, बैदाममा रहेको ताल वाराही माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको थियो । उक्त अवसरमा दुई सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो।