कराची (पाकिस्तान), भदौ ४ गते । पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बाढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिङ्गो गाउँ बगाउँदा चार सयभन्दा बढीको मृत्यु भएको थियो ।
राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार गिलगिट-बाल्टिस्तानको उत्तरी क्षेत्रमा ११ जना र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ । मौसम विभागले शनिबारसम्म थप वर्षाको पूर्वानुमान गरेको छ भने प्रभावित सहरमा विद्यालय बन्द रहेका छन् ।
सिन्ध प्रान्तका प्रमुख मौसमविद अमिर हैदर लघारीले बाढीको प्रमुख कारण कमजोर पूर्वाधार भएको बताउनुभएको छ । दुई जिल्लामा वर्षाका कारण ४० देखि ५० वटा घर क्षतिग्रस्त भएको प्रान्तीय विपद अधिकारी मुहम्मद युनसले बताउनुभएको छ । गत बिहीबारदेखि अफगानिस्तानको सिमानामा रहेको पहाडी उत्तरी प्रान्त खैबर पख्तुनख्वामा तीन सय ५० जना भन्दा बढीको मृत्यु भएको छ ।
अधिकारी तथा सेनाले पहिरो र भारी वर्षाले प्रभावित गाउँमा दर्जनौँ बेपत्ता व्यक्तिको खोजी गरिरहेको जनाएका छन् । राहत शिविर स्थापना गरी चिकित्सा सहायताका साथै सुक्खा राशन पनि दिइरहेका सेनाका कर्नल इरफान अफ्रिदीलाई उदृत गर्दै एएफपीले जनाएको छ । यसैबिच अधिकारीले सेप्टेम्बरको मध्यसम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन् ।
अधिकारीका अनुसार यस वर्षाको सिजन सुरु भएदेखि वर्षाका कारण करिब ७५० जनाको मृत्यु भइसकेको छ । मनसुन बाढीले सन् २०२२ मा पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो, जसको परिणाम स्वरूप लगभग एक हजार सात सय जनाको मृत्यु भएको थियो । रासस/एएफपी