• ४ जेठ २०८१, शुक्रबार

सात स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट

blog

सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेल शुक्रबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु हुदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असार १० गते । सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये सात वटाले शुक्रबारसम्म आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

हरिहरपुरगढी गाउँपालिकाले तयारी नपुगेकाले शुक्रबार आगामी आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष चेखबहादुर थिङले असार १५ गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिने जानकारी दिनुभयो ।

गोलन्जोर गाउँपालिकाले विवादका कारण शुक्रबार कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीका अनुसार शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकमा असार १३ गते कार्यक्रम र बजेट ल्याउने सहमति गरेको छ ।

गाउँ कार्यपालिकाको बोर्ड (समिति) मा बहुमतमा रहेको नेपाली काँग्रेसका सदस्यले जेठ १६ गतेको गाउँ कार्यपालिकाको निर्णय खारेज गरेर मात्रै सो नीति तथा कार्यक्रम र बजेट ल्याउने अडान राखेपछि शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुन नसकेको उहाँले बताउनुभयो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का उमेद्वार शङ्कर बराल गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछिको पहिलो बैठकले यसअघि कांग्रेस निकट गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीको पालामा भएको गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि टेण्डर आह्वान गर्ने लगायतका निर्णय रद्द गरेको थियो । 

बाँकी सातवटा स्थानीय ततहले नीति तथा कार्यक्रमसँगै पाँच अर्ब ४७ करोड ९७ लाख रुपियाँको हाराहारीमा बजेट प्रस्तुत गरेका छन् । यो वर्ष स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । 

स्थानीय तहले बस्ती, वडास्तरबाट आएका योजना र लक्षित समूह लगायत विषयगत क्षेत्रसँग लिइएको सुझावको आधारमा बजेट निर्माण गरिएको जनाएका छन । महिला, दलित, जनजाती, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकको विषयलाई समेत बजेटमा समेटेका छन् । 

कमलामाई नगरपालिकाले कृषि क्षेत्रको व्यवस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘नगर उपप्रमुखसँग कृषक भेटघाट’ कार्यक्रम सञ्चालन, बाली एम्बुलेन्स सञ्चालन कार्यक्रमलाई सुरु गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको मेयर उपेन्द्रकुमार पोख्रेलले बताउनुभयो ।

कमलामाई नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रमसँगै एक अर्ब ३४ करोड ७६ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । दुधौली नगरपालिकाले पनि नीति तथा कार्यक्रमसँगै एक अर्ब १२ करोड ३२ लाख ९० हजार ४२३ रुपियाँ बजेट प्रस्तुत गरेको छ । मरिण गाउँपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रमसँगै ६३ करोड २३ लाख ३३ हजार आठ सय रुपियाँको बजेट सार्वजनिक गरिसकेको छ ।