• २५ असार २०८१, मङ्गलबार

बाँकेमा चिनी तस्करी बढ्यो, ५२० बोरा चिनी बरामद

blog

भारतबाट अवैध रुपमा ल्याएर गोदाममा राखिएको चिनी । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार १० गते । भारतले चिनी निर्यातमा रोक लगाएपछि दैनिक सयौं क्विन्टल अबैध चिनी नेपालगञ्ज भित्रिनेगरेको पाइएको छ । राजश्व छली गरेर ठूलो मात्रामा नेपाल भित्रिएको चिनी प्रहरीले पटक पटक बरामद गर्दै आएपछि यस नाकाबाट चिनी तस्करी बढेको पुष्टि भएको हो । 

सो क्रममा पछिल्लो पटक वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले विहीबार राती भारतबाट भित्र्याइएको ठूलो मात्राको अवैध चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ । 

नेपालगञ्ज वडा १ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेको नन्दनी मिल परिसरबाट प्रहरीले ५२० बोरा अबैध चिनीसहित दाल ठूलो परिमाणमा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर भित्र्याई गोदाममा राखेको ५२० बोरा चिनी र ५१ बोरा बोडीको दाल प्रहरीले बरामद गरिएको बताउनुभयो । 

एसपी अधिकारीका अनुसार बरामद गरिएको चिनी १८ लाख २० हजार रुपियाँको र दाल १ लाख ७ हजार गरेर जम्मा १९ लाख २७ हजार रुपियाँको सामान नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।  

यति ठूलो परिमाणमा कसरी चिनी र दाल नेपालगञ्ज आइपुग्यो भन्ने पनि अनुसन्धान र छानविन भैरहको प्रहरीको भनाइ छ । नाकामा रहेका सुरक्षाकर्मीको कमजोरी देखिएमा कारवाही हुने प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । 

पछिल्लो समय भारतीय सीमा नाकाबाट दैनिक सयौं क्वीन्टल चिनी नेपाल भित्रिरहेको छ । तस्करी गरी ल्याइएको चिनी नेपालगञ्जका विभिन्न गोदाममा भण्डारण गरिएको छ । नेपालगञ्जको जमुनाह, हिरमीनिया, साईगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिमाणमा चिनी तस्करी हुँदैआएको सो क्षेत्रका स्थानीयले बताएका छन् । 

भारतबाट तस्करी गरी ल्याइएको चिनी बाँकेसहित बर्दिया, सुर्खेत, दाङ लगायतका  जिल्लामा पठाउने गरिएको छ । तस्करी रोक्न प्रहरीले दिनरात गस्ती गर्ने र सुराकी मार्फत सूचना सङ्कलन गरेर पक्राउ गर्दैआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।