बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ २ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सिन्धुलीले सोमबार पत्रकार स्वर्गीय अन्जन रानाको परिवारलाई २० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
फोनिजले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमबिच पत्रकार स्वर्गीय रानाकी श्रीमती अनिता रानालाई २० हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो । फोनिज सिन्धुलीले स्थापना गरेको ‘स्वर्गीय अन्जन राना स्मृति अक्षय कोष’ बाट उक्त रकम सहयोग गरिएको हो।
त्यस्तै सोही अवसरमा सिन्धुलीका क्रियाशील पत्रकार जिबी श्रेष्ठलाई नगद एक हजार पाँच सय रुपियाँ र प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका महासङ्घ बागमती प्रदेशका अध्यक्ष तथा तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरले सञ्चार माध्यमलाई बलियो र विश्वसनीय बनाइनुपर्ने बताउनुभयो ।
सञ्चार माध्यम बलियो भयो भने मात्रै सबैको मुद्दा र आवाज उजागर हुने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘निष्पक्ष सञ्चार माध्यमले मात्रै सबैको मन र विश्वास जित्न सक्छ ।’ फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले सङ्कटको बेलामा मात्रै पत्रकार खोज्ने गरेको बताउनुभयो । फोनिजले समाज भड्काउने र द्वन्द्व सिर्जना गर्ने खालको पत्रकारिता गर्न नहुने उहाँको भनाइ थियो ।
फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश उपाध्यक्ष विमला पाण्डे, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष वरुण लामिछानेलगायतका वक्ताले सञ्चार माध्यममा समावेशिता र आदिवासी जनजातिको स्थानले प्राथमिकता पाएको चर्चा गर्नुभयो ।
पत्रकार राना २०७८ साल फागुन २३ गते समाचार सङ्कलनका क्रममा जाँदा सिन्धुलीकाे कमलामाई नगरपालिका–२ ढुङ्ग्रेभञ्ज्याङमा मोटर साइकल दुर्घटनामा परी उहाँको निधन भएको थियो । फोनिज सिन्धुलीले पत्रकार स्वर्गीय रानाकै स्मृतिमा तीन लाख रुपियाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ ।
हालसम्म एक लाख ३५ हजार रुपियाँ कोषमा सङ्कलन भएको र सोही रकमको ब्याजबाट पत्रकार रानाको एक मात्र सन्तान(छोरी)लाई कक्षा १२ सम्म पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गर्दै आएको फोनिज सिन्धुलीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।