• २ भदौ २०८२, सोमबार

पर्सामा ९८ प्रतिशत धान रोपाइँ

blog

पर्साको सखुवाप्रसौनीको खेतमा धान रोप्दै महिला कृषकहरू । तस्बिरः दीपकप्रसाद गौतम

दीपकप्रसाद गौतम 

वीरगन्ज, भदौ २ गते । लामो समयदेखि पानी नपरेर खडेरी भई सुक्खा क्षेत्र हुन पुगेको यस वर्ष पर्सा जिल्लामा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाका अनुसार समयमा पानी नपरेकाले चिन्तित पर्साका किसानहरूले यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न गरेका हुन् ।  

लामो समयदेखि पानी नपरेर मौसमले किसानलाई चिन्तित बनाए पनि पर्सामा हालसम्म वीरगन्ज महानगरपालिका र सखुवाप्रसौनी गाउँपालिकामा केही रोपाइँ मात्र बाँकी रहेको छ । वीरगन्जमा करिब डेढ प्रतिशत र सखुवाप्रसौनीमा पनि त्यसै हाराहारीमा रोपाइँ बाँकी रहेको छ । अन्य पालिकामा पनि थोरै मात्रामा रोपाइँ बाँकी रहेको थापाले जानकारी दिनुभयो । 

यस वर्ष पर्सामा करिब ३९ हजारदेखि ४० हजार हेक्टर जमिनमा बर्खे धानको खेती गरिएको छ । गत वर्ष पनि यस्तै परिमाणमा रोपाइँ भएको थियो । धान बाली पर्साको प्रमुख बाली हो, जुन सबै १४ वटै स्थानीय तहमा मुख्य बालीको रूपमा खेती गरिन्छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमेश थापाका अनुसार अब जिल्लामा थप रोपाइँ नहुने सम्भावना देखिँदैन, अघिल्ला वर्षहरूमा पनि पर्सामा शतप्रतिशत रोपाइँ भएको थिएन ।