• २ भदौ २०८२, सोमबार

नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेका छन् : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

पाटन (ललितपुर), भदौ २ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताउनुभएको छ । 

पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो । ।

सभापति देउवाले कुनै पनि भ्रममा नपरी आगामी दिनमा पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले लामो सङ्घर्ष, बलिदान र आन्दोलनमार्फत नेपालमा बहुदलीय लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको जग बसाएको छ”, उहाँले भन्नुभयो,“शुभेच्छुक संस्थाहरू पार्टीको मूल्य, मान्यता, आदर्श, नीति तथा कार्यक्रमहरूलाई जनस्तरसम्म पुर्‍याउने आधारशिला हुन् । समाजका विविध क्षेत्र र पेसामा क्रियाशील व्यक्तिहरूको श्रम र योगदानकै कारण कांग्रेसलाई सशक्त बनाउन सम्भव भएको छ । यसलाई थप बलियो बनाउन यहाँहरूको भूमिका महत्त्वपूर्ण हुने छ ।”

सभापति देउवाले पार्टीका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई स्थिरता दिनुपर्ने बताउनुभयो । 

देशमा रहेका विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष पर्व भएको उल्लेख गर्दै उहाँले चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्त्व रहेको धारणा राख्नुभयो । 

महामन्त्री गगनकुमार थापाले विधानअनुसार पार्टीको सर्वोत्तम हित र प्रजातान्त्रिक मूल्य तथा मान्यतालाई स्वीकार्ने भ्रातृ संस्थाका साथै शुभेच्छुक संस्थाले पनि समयमा अधिवेशन गरेर गतिशील बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको शुभेच्छुक सङ्घ समन्वय विभागलाई शुभेच्छुक संस्थाका लागि आवेदन दिएका विषयमा अध्ययन गरेर केन्द्रीय समितिमा पेस गर्न आग्रह गर्नुभयो ।

“पार्टीको नेतृत्वलाई सुझाव दिने र सांसदलाई ज्ञान दिने काममा शुभेच्छुक संस्थाहरूको भूमिका हुन्छ । यस्ता संस्था पार्टीको मूलधारमा नभए पनि पार्टी नेतृत्वलाई सुझाव दिएर सुधार्ने क्षमता राख्छन्”, उहाँले भन्नुभयो । महामन्त्री थापाले पार्टीको जिम्मेवारीमा रहेका मानिसहरू शुभेच्छुक संस्थाको जिम्मेवारी र नेतृत्वमा बस्न नहुनेमा जोड दिनुभयो ।

कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीका गतिविधिलाई सामाजिक सञ्जालमा प्रभावकारी बनाउँदै समृद्धिको आधार निर्माण गर्न ठुलाठुला परियोजनामार्फत उत्पादकत्व वृद्धि गर्न ध्यान दिनुपर्ने बताउनुभयो । 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले शुभेच्छुक संस्था पार्टीको नियन्त्रणमा नरहेकाले  यस्ता सङ्घसङ्गठनलाई पार्टीले सहजीकरण मात्रै गर्नसक्ने बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख पुष्पा भुसालले कांग्रेसको नेतृत्वमा बनेको संविधान र संविधानअनुसार बनेका संरचना कमजोर भएका हुन् कि भन्ने चिन्ता बढ्दै गएको भन्दै पार्टीले आफ्ना ‘एजेन्डा’ बलियो बनाउन ध्यानदिनु पर्ने बताउनभयो ।

उहाँले महिलामाथि असमानतालाई बढावा दिनेगरी बहुविवाहलाई प्रश्रय दिने खालका कानुन ल्याउन नहुनेमा जोड दिँदै पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

विभागका प्रमुख अब्दुल सतारले पार्टीको शुभेच्छुक संस्थाको पहुँच वडा तहसम्म रहेको भन्दै पार्टीलाई बलियो बनाउन गुमेको मतलाई पुनःस्थापित गराउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । रासस