मस्को, भदौ २ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अङ्गरक्षकले उहाँको मल फोहोर सङ्कलन गर्न विशेष सुटकेस बोकेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ ।
द एक्सप्रेस युएसका अनुसार यो अनौठो सुरक्षा उपायको उद्देश्य विदेशी शक्तिलाई पुटिनको स्वास्थ्यबारे जानकारी लिनबाट रोक्नु हो । रिपोर्टमा भनिएको छ, “पुटिनका अङ्गरक्षकले विदेश यात्रामा उहाँले प्रयोग गरेका मानव फोहोर सङ्कलन गर्छन्, विशेष झोलामा भण्डारण गर्छन् र सुटकेसमार्फत रुस फर्काउँछन् ।”
फ्रान्सेली प्रकाशन ‘पेरिस म्याच’का पत्रकार रेजिस जेन्टे र मिखाइल रुबिनलाई उद्धृत गर्दै यो अभ्यास नयाँ नभएको बताइएको छ । सन् २०१७ मा पुटिनको फ्रान्स भ्रमणमा समेत यस्तो उपाय प्रयोग भएको थियो । पत्रकार फरिदा रुस्तामोभाले पनि पुटिनले भियना भ्रमणका क्रममा पोर्टेबल शौचालय प्रयोग गरेको बताउनुभएको छ । उहाँले स्रोतलाई उद्धृत गर्दै भन्नुभयो, “राष्ट्रपतिले सन् १९९९ देखि नै यस्तो अभ्यास सुरु गर्नुभएको थियो ।”
पुटिनको उमेर ७२ वर्ष भइसकेको छ र उहाँको स्वास्थ्यबारे लगातार अड्कल भइरहेका छन् । गत वर्ष कजाकिस्तानको अस्तानामा पत्रकार सम्मेलनमा उहाँको खुट्टा अनियन्त्रित रूपमा हल्लिएको देखिएपछि पार्किन्सन रोगजस्ता न्युरोलोजिकल समस्या हुनसक्ने चर्चा चलेको थियो ।
यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय बैठकमा पुटिनलाई आफ्नो सिटमा अस्वाभाविक रूपमा हल्लाइरहेको देखिएको थियो । सन् २०२२ मा त क्रेमलिनले सामाजिक सञ्जालमा फैलिएका ‘स्वास्थ्य सम्बन्धी अफवाह’ खारेज गर्न आधिकारिक रूपमा वक्तव्य नै जारी गरेको थियो । सुरक्षा र स्वास्थ्य सम्बन्धी यस किसिमको खबर फेरि चर्चामा आउनु भनेको पुटिनको नेतृत्व र व्यक्तिगत अवस्थाबारे बाहिरी अनुमान अझै जारी रहेको सङ्केत हो । रासस/एएनआई