काठमाडौँ, भदौ २ गते । वन तथा वातावरण मन्त्रालयका प्रमुख तथा (सह-सचिव) नवराज पुडासैनीले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले श्रमिक र आदिवासी जनजातिलाई बढी असर परिरहेको बताउनुभएको छ । गृह श्रमिकका क्षेत्रमा काम गरिरहेका क्लास नेपालद्वारा राजधानीमा आयोजित “जलवायु परिवर्तनको प्रभाव, न्यायोचित रूपान्तरणको बाटो” विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले बढ्दो तापक्रमले निर्माण क्षेत्र, कृषि क्षेत्रलगायत घरबाहिर दैनिक काम गरेर खानुपर्ने श्रमिक वर्ग र खोलानाला, वन क्षेत्र छेउमा बस्ने आदिवासी जनजाति वर्गले भारी वर्षा, पहिरोलगायतले घर, खेतीमा क्षति पुग्ने भएकोले तापक्रम वृद्धिको असर यि दुई वर्गलाई सबैभन्दा पहिले नोक्सान पुग्ने बताउनुभएको हो ।
जलवायु परिवर्तनको असरबारे कार्यपत्र प्रस्तुत गर्दै सचिव पुडासैनीले श्रमिक वर्गले २४ देखि २६ डिग्री तापक्रम भएमात्र काम गर्ने क्षमता हुन्छ, हाल जलवायु परिवर्तनका कारण ३३ डिग्री वा त्यो भन्दा पनि बढि तापक्रम पुगिरहेको छ भने त्यस्तो गर्मीमा काम गर्दा कार्यक्षमतामा असर, स्वास्थ्यमा असर, छालाको क्यान्सर हुने जोखिम हुन्छ भने आदिवासी जनजाति पनि प्रकृतिको नजिक र प्रकृतिसँग एकाकार हुने जीवनशैली, जीविकोपार्जन गर्ने पद्धतीमा आधारित जीवन बाँच्ने कारणले उनीहरू जलवायु परिवर्तनका कारण बढेको तापक्रमबाट सिंधै प्रभावित हुने वर्ग हुन्, भन्नुभयो ।
तापक्रम बढ्ने क्रमलाई कुनै एक देशको पहलमा घटाउन सकिँदैन भन्दै उहाँले रोजगारीका लागि हरित उद्यमशीलतामा आधारित उद्योगहरूको स्थापना गर्नुपर्ने, वातावरणमैत्री नीति अवलम्बन गर्दै जलवायु परिवर्तनको जोखिममा रहेका सुमदाय वर्गहरूलाई राजनीतिक , सामाजिक, आर्थिक आयामबाट संरक्षण गर्दै जाने भन्ने विश्वव्यापी घोषणापत्रका निर्णय कार्यान्वयनमा नीजि क्षेत्र र राज्यले पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनको असर घटाउन विश्वभर भइरहेको छलफलको निष्कर्ष र विभिन्न देशले गरेका प्रतिबद्धता बारेमा समेत जानकारी दिनुभएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव प्रदीप कोइरालाले जलवायु परिवर्तनका असरले हरेक क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा मानिसले पनि त्यस्तो परिवर्तनलाई न्युनीकरणको उपायसहित रोजगारी, उद्यमको क्षेत्रमा नयाँ, नयाँ खोज र पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले बढ्दो तामपक्रका कारण सबैभन्दा बढी श्रमिकलाई असर परेको छ तर विश्वमा परिवर्तन सधैं भइरहने प्रक्रिया हो, यसलाई आत्मसात गर्दै खेती, पर्यटनलगायत विविध क्षेत्रमा नयाँ सम्भावना खोज्नुपर्ने वाध्यता रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनका कारण श्रमिक क्षेत्रमा परेको असरबारे ट्रेड युनियनमा छलफल, श्रमिकलाई प्रशिक्षण तालिम दिएर श्रमको नयाँ सम्भावनाबारे अन्तर्क्रिया गर्ने गरेको बताउनुभयो ।
अभियन्ता अमिता थापामगरले जलवायु परिवर्तनका कारण विश्व प्रभावित छन्, त्यसमध्ये श्रमिक वर्गलाई परेको असरबारे चिन्ता पनि सबैलाई छ तर ठोस, योजना, कार्यक्रम भने कसैले पनि नबनाएको बताउनुभयो ।
क्लास नेपालका कोषाध्यक्ष गोमा पाण्डेले भन्नुभयो,“नेपालमा ९० लाख भन्दा बढी अनौपचारिक क्षेत्रमा श्रमिक छन्, जो गृहश्रमिक, भौतिक निर्माण, कृषि, यातायातसहित विविध क्षेत्रमा संलग्न छन्, उहाँहरूले बिहान कमाएर साँझ खाने स्थिती र खुला आकाशमुनि, वा सुविधाबिनाका जस्ताका टहराहरूमा रहेर काम गर्छन् भने यस क्षेत्रका लागि सोचेर सरकारी नीति र योजना बनाउन आवश्यक छ ।”