• १३ साउन २०८१, आइतबार

पहिरो पन्छाउने काम अब कालीगण्डकी करिडोरले गर्ने

blog

हर्मिचौरदेखि पुर्तिघाट सडकखण्डको पहिरो डोजर लगाएर पन्छाउँदै गरेको । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार १० गते । कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडकखण्डमा पहिरो  पन्छाउने काम अब करिडोरको कार्यालयले व्यवस्थापन गर्ने भएको छ । कालीगण्डकी करिडोर गैंडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले  क्षेत्रीय कार्यालयबाट बजेटको व्यवस्थापन भएकाले अब पहिरो पन्छाउने काम कार्यालयले गर्ने जानकारी दिनुभयो । 

यसअघि कार्यालयमा मर्मत सम्भारका लागि बजेटको व्यवस्था नभएकाले आवश्यक बजेटका लागि माग गरिएको र बजेटको व्यवस्था भएपछि समस्याको समाधान भएको अधिकारीको भनाइ छ । नेपाली सेनाले बम ब्लाष्ट गरेर खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डमा सामान्य पानी परे पनि  पहिरो खस्ने समस्याले विगतदेखि नै आफूहरु हैरान भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गुनासो गर्नुभयो ।

विगतका वर्षदेखि नै यो समस्याले आफूहरुलाई सताएको भन्दै पहिरो पन्छाउनमा गाउँपालिकाको धेरै बजेट खर्चिनुपरेको उहाँको भनाइ छ  । स्थानीय सरकार भएकाले पनि  बाटोलाई पहिरोका कारण अवरुद्ध राख्न नहुने बताउनुभयो ।

असारदेखि दशैसम्म सडकमै डोजर खडा गरेर राख्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । कति बेला कहाँ पहिरो जान्छ भनेर स्टेन्डवाई डोजर खडा गरेर राख्नुपरेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।

करिडोरको बाटोमा पानी परेपछि पहिरो झर्ने समस्याले गर्दा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म कार्यालयको कामले पनि जान समस्या हुनेगरेको स्थानीय तिलक रानाले बताउनुभयो । पहिरोका कारण पुुर्तिघाटदेखि बुटवलसम्म छुटने सवारी साधनहरु र यात्रुहरु अलपत्र पर्नेगरेका छन् । कार्यालयको कामले गाउँपालिकासम्म जान समस्या भएको  यात्रुहरुले बताउँदैआएका छन् ।