• २३ असार २०८१, आइतबार

सरुवा रोग अस्पताल सुनसान

blog

कालीकोट, असार १० गते । कालीकोट सदरमुकाम मान्ममा कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सुविधायुक्त सरुवा रोग अस्पताल सुनसान छ । सो अस्पतालमा चिकित्सकसहित १९ जना कर्मचारी कार्यरत भए पनि अहिलेसम्म बिरामी अस्पतालमा नआएपछि सुनसान भएको हो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७८ मङ्सिरमा सो अस्पताल उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन भएको चार महिनासम्म सरुवा रोग अस्पतालमा जनशक्ति नहुँदा ताला लाग्यो । फागुन १८ गतेदेखि चिकित्सकसहित १९ जना कर्मचारी सरुवा रोग अस्पतालमा खटाइयो । तर अहिलेसम्म कुनै पनि बिरामी नआएको अस्पतालले जनाएको छ । सरुवा रोग अस्पतालको रेखदेख र व्यवस्थापन स्वास्थ्य सेवा कार्यालय कालीकोटले गरिरहेको छ । कार्यालयका सूचना अधिकारी कटक महतले बिरामी कोही नभए पनि कर्मचारी आउने, कार्यालय खोल्ने काम भइरहेको बताउनुभयो ।

“१९ जनामध्ये १८ जना कर्मचारी नियमित छाँैं, बिरामी आउनुभएको छैन । बिरामी आए उपचार हुन्छ,” अस्पतालका सूचना अधिकारी महतले भन्नुभयो । करारमा भर्ना गरिएका १९ जना कर्मचारीको अवधि असार मसान्तसम्म मात्रै छ । सरुवा रोग अस्पतालमा बिरामी नआउँदा केहीले कालीकोट जिल्ला अस्पतालमा सेवा गरिरहेका छन् । 

कालीकोटसहित जुम्ला, मुगु र दैलेखका बिरामीलाई लक्षित गरेर यो अस्पताल स्थापना गरिएको भए पनि बिरामी भने शून्य छन् । ओपीडी सञ्चालन गरेको भए बिरामी आउने थिए । तर सरुवा रोगका बिरामीलाई मात्र राख्ने भनेकाले बिरामी नआएको स्थानीयको भनाइ छ ।स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त प्रमुख डा. रत्नवीर सुनारले सरुवा रोग अस्पतालले दिने सबै सेवा जिल्ला अस्पतालले दिइरहेको बताउनुभयो ।

उहाँले दरबन्दीअनुसारका कर्मचारी भर्ना गरिए पनि विशेषज्ञ चिकित्सक अभावमा बिरामी नआएको हुन सक्ने शङ्का गर्नुभयो । उहाँले भन्नुभयो, “कोभिड अस्पतालका रूपमा सञ्चालन हुँदा यस अस्पताललाई गैरसरकारी संस्था र सरकारी निकायले करोडौँका स्वास्थ्य सामग्री दिएका छन् ।” उहाँका अनुसार प्रदेश सरकारले विशेषज्ञ चिकित्सक पठाउने निर्णय गरेको भए पनि अझैसम्म पठाएको छैन ।

बिरामी नहुँदा आईसीयू बेड, भेन्टिलेटर, अक्सिमिटर, अक्सिजन सिलिन्डरलगायतका सामग्री थन्काइएको डा. सुनारले जनाउनुभयो । कम्तीमा पनि दस करोड रुपियाँभन्दा बढीका सामग्री अस्पतालमा थन्काएर राखिएको छ । प्रयोग नहुँदा सबै सामग्री खराब भएर जाने चिन्ता सहयोगी दाताको छ । नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाका सभापति बलप्रसाद सज्यालले सहयोग गरेको सामग्री प्रयोगमा आउनुपर्ने र अस्पताल सञ्चालन भए स्थानीय बासिन्दालार्ई राहत हुने बताउनुभयो । कर्णाली प्रदेश सरकारले नीति तथा बजेटमा सरुवा रोग अस्पतालका विषयमा केही बोलेको छैन । प्रदेश सरकारको मौनताले करारमा बसेका कर्मचारी र स्थानीय चिन्तित छन् ।

Author

प्रेमराज सिम्खडा