• १३ वैशाख २०८१, बिहिबार

वैदेशिक रोजगारीमा एजेन्टबाट ठगिने धेरै

blog

काठमाडौँ, असार १० गते  । वैदेशिक रोजगारीमा जाने युवा ठगिने गरेका छन् । वैदेशिक रोजगारीमा जाने क्रममा गाउँघरकै एजेन्टबाट ठगिने युवाको सङ्ख्या धेरै रहेको छ । यसबाहेक वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन् । 

वैदेशिक रोजागर विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिना वा जेठ महिनासम्म वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार १८१ वटा उजुरी परेका छन्, जसमा ५९१ वटा संस्थागततर्फ (म्यानपावर कम्पनी)का छन् भने ५९० वटा व्यक्तिगततर्फका छन् । सो अवधिमा ती उजुरीबापत ५८ करोड ८३ लाख ३९ हजार ५४८ रुपियाँ माग दाबी गरिएको छ, जसमा संस्थागतर्फत १५ करोड ५५ लाख ७१ हजार रुपियाँ माग दाबी गरिएको छ भने व्यक्तिगततर्फ ४१ करोड ४१ लाख १८ हजार रुपियाँ माग दाबी गरिएको छ । 

विभागका महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “संस्थागत उजुरीमा प्रमाण भएमा कारबाही गर्न सकिन्छ र धेरैलाई कारबाही भएको छ तर व्यक्तिगत उजुरी अदालतमा जाने हुनाले यसको प्रक्रियामा पनि लामो भएकाले समय लाग्छ ।” 

वैदेशिक रोजगारीका क्रममा ठगीमा परे भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका महानिर्देशक पौडेलले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताउनुभयो । व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सलटेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उहाँको भनाइ छ ।  

विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेकोे छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरमा बढी जाने गरेको छ । 

अदालतमा ७२ वटा मुद्दा दायर

विभागका अनुसार आव २०७८/७९ मा ७२ वटा मुद्दा अदालतमा दायर भएका छन्, जसमा व्यक्तिगत ठगीविरुद्धमा ६५ वटा रहेका छन् भने कन्सलटेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका सातवटा छन् । अदालतमा दायर भएका मुुद्दाको १९ करोड ८५ लाख ४८ हजार बिगो रकम माग दाबी भएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा विभागमा आएका एक हजार १८१ उजुरीमध्ये ३०९ वटा मिलापत्र गराएको छ, जसमा संस्थागतर्फको २०६ वटा र व्यक्तिगतर्फको १०३ वटाको मिलापत्र भएका छन् । 

सोही अवधिमा मिलापत्रबाट १५ करोड ३३ लाख ३३ हजार ६९५ रुपियाँ पीडकबाट पीडितलाई भराएको छ । जसमा व्यक्तिगततर्फको आठ करोड छ लाख ३२ हजार ६९१ रुपियाँ मिलापत्रबापत भराएको छ भने सात करोड २६ लाख एक हजार संस्थागतबाट धरौटीबाट कट्टा हुनेगरी भराएको विभागले जनाएको छ । 

प्रहरीमा २९१ उजुरी 

वैदेशिक रोजगारीमा ठगी भएका उजुरी विभागमा मात्रै परेका छैनन्, प्रहरीमा पनि पर्न थालेका छन् । २०७८ को फागुुनदेखि जेठसम्म प्रहरीमा २९१ वटा उजुरी परेका छन् । प्रहरीमा आएका उजुरीमध्ये एजेन्ट÷व्यक्तिविरुद्धका २४२ वटा, वैदेशिक रोजगार संस्थाको विरुद्धमा ४५ वटा, कन्सलटेन्सी र ट्राभलविरुद्धका दुई/दुईवटा रहेका छन् । प्रहरीमा आएका उजुरीमध्ये ९५ वटा फस्र्योट भएका छन् भने १९६ वटा फस्र्योट हुन बाँकी छन् । 

जिप्रकालाई अधिकार दिनुपर्ने 

वैदेशिक रोजगार ऐन र नियमवालीअनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाको उजुरीले लिने र मिलापत्र गराउने अधिकार जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि छ तर यस्ता ठगीका उजुरीको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने, जरिवाना गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्रै छ । 

वैदेशिक रोजगारीका अधिकांश उजुरी जरिवाना गर्नुपर्ने र मुद्दा दायर गर्नुपर्ने हुने गरेको वरिष्ठ अधिवक्ता सोम लामिछानेले बताउनुुभयो । उहाँले वैदेशिक रोजगारीमा हुने ठगीविरुद्ध उजुरी दिन केन्द्रमा रहेका विभागमै आउनुपर्ने बाध्यता भएकाले यसको अन्त्य गर्न विभागको सम्पूर्ण अधिकार जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई हुनेगरी कानुनी व्यवस्थाको आवश्यकता औँल्याउनुुभयो । 

उहाँका अनुसार उजुरीको अवस्था हेर्दा कम्पनी र व्यक्तिबाट पीडित भयौँ, राहदानी बनाउँदादेखि नै विभिन्न प्रलोभन देखाउने, बढी पैसा असुल्ने श्रमिकलाई कुन देशमा कुन कामका लागि जाने भन्नेसम्मका सूचना नदिइकन ठगी गरेको देखिन्छ ।