नवराज कट्टेल
विराटनगर, कात्तिक १२ गते । कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला ताप्लेजुङलाई धनकुटा हुँदै तराईको सुनसरीसँग जोड्ने तमोर कोरिडोर सडकले जोडिए पनि पुलको दुःख पार लाग्न सकेको छैन । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म सडकमा सवारीको चाप बढ्दै गएको छ । यसबिचमा पर्ने आठ वटा खोलामा पुल नहुँदा कोरिडोरमा सवारी आवागमनमा असहजता पार गर्नु पर्छ ।
तमोर कोरिडोर, सडक (चतरा–मूलघाट–सुभाङ खोला) ले अहिले सुनसरीको वराहक्षेत्रस्थित चतरादेखि पाँचथरको गणेश चोकसम्मको काम गरिरहेको छ । यसमध्ये धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्मकोे ११२ किलोमिटर दुरीभित्र आठ वटा पुलको काम पुल सेक्टर आयोजना इटहरीले गरिरहेको छ । कोशी राजमार्ग हुँदै धरान धनकुटा भएर मूलघाटबाट तमोर कोरिडोर लाग्ने सडक सहज भए पनि यही सडकमा बन्नुपर्ने पुलको काम ढिलासुस्तीले झन्झट थपिदिने गरेको छ ।
सडक बनेपछि पुल संरचनाका लागि बाटो खोलिएका कारण पनि आठ वटा पुल निर्माणको काममा ढिलाइ भएको पुल सेक्टर आयोजना इटहरीका सूचना अधिकारी आविष्कार तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन वटा प्याकेजमा आठ पुलको ठेक्का व्यवस्थापन गरिएको छ ।
तीमध्ये पाँचथरको हेवा, धनकुटाको लोरिया, धनकुटाको लखुवा र धनकुटाको नावाखोलाको पुल डिजाइन स्वीकृतिको चरणमा छन् । यीमध्ये हेवा ४० मिटर, लोरिया २० मिटर, लखुवा १५० मिटर र नावा १५० मिटर लम्बाइका छन् । यी चार खोलामा निर्माण गरिने पुलको लागत तीन अर्ब ७२ करोड १५ लाख अनुमानित छ । २०७८ सालमै ठेक्का व्यवस्थापन भएर २०८३ फागुनसम्म सम्पन्न हुनुपर्ने पुलको अहिलेसम्म डिजाइन स्वीकृतसमेत भएको छैन ।
यस्तै धनकुटाको छरुवा खोला (१६५ मिटर) मा २०७८ फागुन ६ गते पुल निर्माण सम्झौता भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम भएको छ । यसको म्याद २०८२ साल कात्तिक १३ गतेसम्म छ । पुलको लागत एक अर्ब ७२ करोड ३७ लाख नौ हजार ५४० रहेको छ । समयमै नसकिने भएपछि म्याद थप गर्ने चरणमा रहेको इन्जिनियर तिम्सिनाले जानकारी दिनुभयो ।
यसै गरी धनकुटाको रघुवा (१५०), खम्बुवा (४०) र बँधुवा (४०) को कामसमेत सुस्त छ । यी तीन खोलामा पुल सम्झौता २०७८ सालमै भएको थियो म्याद थपसहित २०८३ वैशाख मसान्तमा सम्पन्न हुनुपर्ने पुलको काम भने शून्यदेखि ४५ प्रतिशत मात्रै छ । यसका लागि दुई अर्ब २५ करोड २७ लाख निर्माणमा लाग्ने छ ।
धार्मिक पर्यटकलाई सहज
तमोर नदीको कोरिडोर, सडकमा रूपान्तरण भएपछि पूर्वी पहाडी जिल्ला ताप्लेजुङको पाथीभरा दर्शन गर्ने कोशी र मधेशका धार्मिक पर्यटकलाई अझै सहज भएको छ । कोशी प्रदेशको ताप्लेजुङसँग कोशी प्रदेशको राजधानी विराटनगरको यात्रा १० घण्टामा तय हुन थालेको छ । त्यसैले पाथीभरा जाने प्रदेश राजधानी विराटनगरका तीर्थालु सार्वजानिक सवारीदेखि निजी सवारीको प्रयोग गरेर तमोर कोरिडोरबाट यात्रा गर्न थालेका छन् । यति मात्रै नभई मधेश प्रदेशका तीर्थालु पनि यही सडकमार्ग हुँदै पाथीभरा पुग्ने गरेका छन् । पूर्वी पहाडी जिल्लाको समृद्धिको सेतु यो कोरिडोरले धनकुटा–तेह्रथुम–पाँचथर–ताप्लेजुङ जिल्लाका तमोर कोरिडोर नजिकका बस्तीलाई समेत तराईसँग सहज पहुँचमा पु¥याएको छ । अझै यस कोरिडोरमा सुनसरीको वराहक्षेत्रको चतरा पनि पर्छ । तमोर कोरिडोरले दुरी मात्रै नभई दुर्गम बस्तीलाई सुगममा रूपान्तरण गरिदिएको हो ।
दुई खण्डमध्ये सुनसरीको वराहक्षेत्रस्थित चतरा–धनकुटाको मूलघाट–पाँचथरको गणेश चोक सडक कालोपत्रे भइरहेको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११२ किलोमिटर दुरीमध्ये दुई खण्डमा ठेक्का व्यवस्थापन गरिएको तमोर कोरिडोर, सडक योजना (चतरा–मूलघाट–सुभाङखोला) का इन्जिनियर तथा सूचना अधिकारी जयराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कालोपत्रे ११२ मध्ये दुई खण्डमा ठेक्का व्यवस्थापन भएको छ । जसमा मूलघाटदेखि हान्थुवासम्म पुलको पहुँच सडकसमेत ६७ किलोमिटरमध्ये ६३ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का व्यवस्थापन भएको छ, जसमा ४८ किलोमिटर कालोपत्रे भइसकेको छ । हान्थुवादेखि गणेशचोकसम्मको ४६ किलोमिटर दुरीमध्ये सात किलोमिटर कालोपत्रे भइसकेको अधिकारीले जानकारी दिनुभयो ।
२०६५ मा सांसद विकास कोषको पाँच लाख रुपियाँ विनियोजन गरेर तत्कालीन सांसद हेमराज भण्डारीले यो कोरिडोरको सुरुवात गर्नुभएको स्थानीयको भनाइ छ । त्यसपछि २०६७ सालदेखि कोरिडोर निर्माण राष्ट्रिय गौरवमा समेटिएको थियो ।
यस कोरिडोरका दुई खण्डमा सुनसरीको वराहक्षेत्र चतरा–धनकुटाको मूलघाटबाट पाँचथरको गणेश चोक र गणेश चोकबाट ताप्लेजुङको दोभान हुँदै ओलाङ्चुङगोलासम्म पर्छ । जसले चीनको तिब्बतसँग सडक कोरिडोरको मार्ग जोड्छ । इन्जिनियर अधिकारीका अनुसार यो मूलघाटदेखि १८० किलोमिटरमा ओलाङ्चुङगोलालाई छुन्छ । मूलघाट–गणेश चोक ११२ किलोमिटर, मूलघाटदेखि सुनसरीको वराहक्षेत्रस्थित चतरासम्म ४३ किलोमिटर छ । मूलघाट–चतरामा अहिले चार किलोमिटर कालोपत्रे गर्ने ठेक्का व्यवस्थापन भएको छ ।