अर्जुन कार्की
काठेखोला (बागलुङ), कात्तिक ११ गते । धानबाली भित्र्याउने मुख्य समयमा पानी परेपछि बागलुङका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ ।
मङ्गलबार परेको वर्षाले धान बालीमा क्षति पुर्याएको छ । वर्षाले काटेर खेतमै सुकाएको धानको पाँजा रुझाएको छ भने काट्न ठिक्क परेको धान समेत खेतमा नै झारी दिएको छ ।
धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउने वित्तिकै पानी परेपछि नोक्सानी भएको काठेखोला गाउँपालिका–२ भीमापोखराका किसान सूर्यबहादुर थापाले बताउनुभयो । “केही धान काटिसकेका थियौं, पानी परेपछि खेतमै भिज्यो । भिजेका बाला सुकाउन पनि समस्या छ, फेरि कुहिने डर छ,” उहाँले भन्नुभयो, “मौसम अनुकूल नहुँदा हाम्रो महिनौँको मेहनत खेर जाने अवस्था छ ।”
काठेखोला गाउँपालिका–२ का अर्का किसान सुनिल पौडेलले भित्र्याउने बेलाको धान पानीले भिजाउँदा उत्पादन घट्नेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले वर्षाले खेतमा पाकिसकेको धान खेतमा ढलेको बताउनुभयो । “धान ढलेपछि काट्न गाह्रो हुन्छ, उत्पादन पनि घट्छ,” पौडेलले भन्नुभयो, “पानी रोकिएर घाम लागे मात्र केही धान जोगाउन सकिन्छ ।”
वर्षाले जिल्लाका धेरै ठाउँमा धान भित्र्याउने काम प्रभावित भएको छ ।
यस वर्ष बागलुङमा करिब पाँच हजार चार सय ७९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । राम्रो मौसम रहँदा उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको थियो, तर असामयिक वर्षाले यस वर्षको उत्पादनमा असर पार्ने देखिएको छ ।