• १३ साउन २०८१, आइतबार

डीआईजी प्रमोसन समावेशी र सन्तुलित

नेपाल प्रहरीको प्रमुख पदमा चार महिला प्रतिस्पर्धामा

blog

काठमाडौँ, असार १० गते । नेपाल प्रहरीको प्रमुख पदमा पहिलो पटक चार महिला प्रतिस्पर्धामा पुग्ने भएका छन् । गृह मन्त्रालयले बुधबार रिक्त रहेको १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस परेकाबाटै आगामी प्रहरी महानिरीक्षक नियुक्त हुने भएको छ । सिफारिसमा चार जना महिला परेका छन् ।

गृह मन्त्रालयका सचिव अध्यक्ष तथा नेपाल प्रहरीका महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्यसचिव रहेको बढुवा सिफारिस समितिले २०५१ चैत ५ गते नेपाल प्रहरी निरीक्षकमा प्रवेश गरेका १३ जना र २०५२ भदौ १९ गते भर्ना भएका चार गरी १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

जसअनुसार प्रहरीमा १०८ ब्याची एसएसपीहरू वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, श्यामलाल ज्ञवाली, किरण वज्राचार्य, सन्दीप भण्डारी, मीरा चौधरी, उमेशराज जोशी, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणालाई बढुवा सिफारिस गरिएको छ ।  

त्यस्तै ११० ब्याचबाट चार जना एसएसपीहरू दीपक थापा, सुदीप गिरी, टेकबहादुर तामाङ र भीमप्रसाद ढकालसमेत बढुवा सिफारिसमा पर्नुभएको छ । डीआईजीमा बढुवा सिफारिस भएको यही समूहबाट आगामी चैत ११ गते  नेपाल प्रहरीको ३०औँ महानिरीक्षक नियुक्त  हुनेछ ।

सिफारिसमा परेका मध्ये चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू किरण वज्राचार्य, दुर्गा सिंह, मीरा चौधरी र किरण राणा हुनुहुन्छ ।सिफारिसमा चित्त नबुझे एक हप्ताभित्र उजुरी हाल्न पाउने र कुनै उजुरी नपरे मन्त्रिपरिष्दको बैठकले बढुवा सिफारिस अनुमोदन गर्ने व्यवस्था छ । समितिले डीआईजी बढुवा गर्दा रोलक्रम, जेष्ठता, कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकतामा राखेको छ । 

नेपाल प्रहरीमा पछिल्लो समय महिला आकर्षण बढ्दो छ । हाल कायम कुल दरबन्दीमा ७९ हजार ५४१ रहेकामा महिला प्रहरी आठ हजार ३०७ अर्थात् ११.०६५ प्रतिशत छन् ।  यस अवस्थामा महिलाहरू डीआईजी नियुक्त भए उहाँहरू भावी प्रहरी महानिरीक्षक बन्ने बाटो खुला हुनेछ । प्रहरीको जनपथतर्फ पूजा सिंह तथा प्राविधिकतर्फ आशा सिंह मात्र अतिरिक्त महानिरीक्षकसम्म मात्र पुग्नुभएको छ ।   

आगामी साउन १९ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि एक रिक्त हुने पदमा हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहका ब्याची डीआईजीहरू नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँमध्ये एक जना एआईजीमा बढुवा हुनुहुनेछ ।

यस समूह आगामी चैत ११ गते तीस वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएसँगै हाल बढुवा भएको समूहबाट नै आईजीपीका लागि प्रतिस्पर्धा हुनेछ । प्रहरीमा प्रवेश गरेदेखि विवादरहित छवि तथा सफल कमान्ड गरेको यो महिला समूह अनुभवी र व्यावसायिक मानिन्छ ।  

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यसपटकको बढुवा सिफारिसले प्रहरीमा महिला प्रमुख सम्भावना सुखद रहेको बनाउनुभयो । उहाँले नेपाल  सुरक्षा प्रमुख महिला बनेमा सकारात्मक सन्देश जाने बनाउँदै यसले नेपाली महिला जस्तोसुकै चुनौती सामना गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह हुने बताउनुभयो । महिला हिंसा, बलात्कारजस्ता जघन्य घटान वृद्धि भइरहेको अवस्थामा त्यसलाई सही रूपमा सम्बोधन गर्न महिला नेतृत्व प्रभावकारी हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।