• ४ जेठ २०८१, शुक्रबार

आइपुग्यो थप तीन हजार मेट्रिक टन युरिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते  । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट टे«डिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिनुभयो ।

२२ हजार मेट्रिक टन युरिया भारतको कोलकाता बन्दरगाहमा आइपुगेकोमध्ये तीन हजार मेट्रिक टन मल बिहीबार बिहान नेपाल भित्रिएको हो । बाँकी मल आउने क्रममा रहेको उहाँले बताउनुभयो । जेठ २७ गते साल्ट टे«डिङले नै २० हजार मेट्रिक टन डीएपी मल ल्याएर बिक्री वितरण गरिरहेको छ । 

वर्षे धान रोपाइँका लागि मलको अभाव नहोस् भनी कृषि तथा पशुपन्छी मन्त्रालय त्यसको व्यवस्थापनमा लागेको छ । भारतसँग गरिएको जीटुजीको माध्यमबाट आउने मलका लागि कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी भारतको मुम्बई पुगेका छन् । मलको दररेटमा सम्झौता गर्न उहाँहरू भारत जानुभएको हो । सम्झौता गरेर आएपछि भारतबाट मल आउन सुरु हुने कृषि मन्त्रालयले जनाएको छ । 

नेपालमा वर्षे धानका लागि कम्तीमा एक लाख ५० हजारदेखि ७० हजार मल खपत हुन्छ । कृषि सामाग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्ता, २० हजार मेट्रिक टन डीएपी असारको तेस्रो हप्तादेखि र २० हजार मेट्रिक टन डीएपी असार अन्तिम हप्ता तथा भारतबाट जीटुजी (सरकारदेखि सरकार) माध्यमबाट खरिद हुने ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी असार मसान्तसम्म नेपाल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ । भारतसहित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको मिलाएर एक लाख १० हजार मेट्रिक टन डीएपी र ८२ हजार मेट्रिक टन युरिया वर्षे धानखेतीका लागि नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले दाबी गरेको छ ।