• ८ वैशाख २०८१, शनिबार

सुदूरपश्चिमका तराई जिल्लामा सुरुभयो रोपाइँको चटारो

blog

कैलालीको जानकी गाउँपालिकामा रोपाइँ गरिदैं । तस्बिर : भोजराज भाट

अविनाश चौधरी

धनगढी, असार ९ गते । सुदूरपश्चिम प्रदेशको लागि अन्न भण्डार मानिने तराईमा किसानले रोपाइँ सुरु गरेका छन् । रोपाइँका लागि पर्याप्त हुने पानी नपर्दा पनि अन्य उपाय गरी कैलाली, कञ्चनपुरका किसानले रोपाइँ सुरु गरेका हुन । यो प्रदेशमा अझै मनसुन आइपुगेको छैन । तर, ब्याड तयार भएपछि किसानले रोपाइँ गर्न थालेका छन् । 

मनसुनले अझै साथ नदिए पनि बोरिङले सिचाइँ गरेर रोपाइँ गर्न थालेको कैलारी गाउँपालिका–७ मोहनपुरका रामप्रसाद पल्परियाले बताउनुभयो । ‘ब्याड तयार भएकाले रोपाइँ गर्न थालिसक्यौं’, उहाँले भन्नुभयो । 

कैलालीको पूर्वी क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट केही खेत सिञ्चित हुनेगरेको छ । तर जिल्लाको अत्यधिक ठाउँमा सिंचाइ सुविधा छैन । त्यस्ता ठाउँका किसान बोरिङ वा आकाशे पानीको भरमा खेतीपातीको काम गर्दैआएका छन् । 


जल तथा मौसम पूर्वानुमान महाशाखाले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने बताए पनि सुदूरपश्चिममा मनसुन भित्रिइसकेको छैन । अहिलेसम्म हल्का वर्षा हुनुबाहेक सुदूरपश्चिममा मुसलधारे पानी परेको छैन । ‘वर्षा नभएपछि बोरिङले सिँचाइ गरेर रोपाइँ थालिसकेका छौं’, धनगढी उपमहानगरपालिका –२ शिवनगरका सङ्गत चौधरीले भन्नुभयो । 

त्यसो त यो वर्ष किसानले आवश्यकतानुसार रासायनिक मल पनि प्राप्त गर्न सकेका छैनन् । केही हद्सम्म युरिया पाएका किसानसँग डीएपी उपलब्ध छैन । डीएपी नपाएपछि त्यत्तिकै रोपाइँ सुरु गरिसकेको कञ्चनपुरका कृषक नारायण रानाले बताउनुभयो । ‘डीएपी बिनै यस वर्षको रोपाइँ सुरु गरिसकेका छौं’, उहाँले भन्नुभयो । 

सुदूरपश्चिमको पहाडी जिल्लामा भएको उत्पादनले त्यस क्षेत्रमा वर्षभरि खान पुग्दैन । ती जिल्लाहरुमा तराईबाट खाद्यान्न निर्यात गरिदैंआएको छ । त्यसैले पनि यो प्रदेश दुई जिल्ला कैलाली, कञ्चनपुरबाट उत्पादित खाद्यन्नको भर पर्नेगरेको छ ।  

यहाँको उत्पादनले प्रदेशकै पेट भर्ने कार्य हुने गरेपनि खेतीपातीको बेला जहिल्यै मल अभाव समस्या झेल्नु परिरहेको किसानको गुनासो छ । कतिपय किसानले ब्याड तयार भइसके पनि मलबिना रोपाइँ सुरु गर्न सकेका छैनन् । उनीहरु अझै पनि मलकै पर्खाइमा रहेका छन् । 


धानको ब्याड तयार भएपनि रोपाइँ गर्न नसकेको कृषक राजाराम चौधरीले बताउनुभयो । ‘धान रोपाइँको बेला डीएपी मल आवश्यक पर्छ’, उहाँले भन्नुभयो । ‘जति कोसिस गरेपनि डीएपी पाउन सकिएन ।’ डीएपी मल नहाली रोपाइँ गर्दा उत्पादन राम्रो नहुनेगरेको किसानको भनाई छ ।  

प्रादेशिक कृषि निर्देशनालयकाअनुसार कैलाली, कञ्चनपुर दुवै जिल्लामा गरेर कुल एक लाख १८ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुनेगरेको छ । जसमध्ये कैलालीका करिब ७० हजार र कञ्चनपुरमा ४८ हजार हेक्टर जमिनमा धानखेती हुँदैआएको छ ।