• १२ वैशाख २०८१, बुधबार

अन्तर वडा टेबल टेनिस भदौमा

blog

अन्तर वडा टेबल टेनिस प्रतियोगिताबारे नाजकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ९ गते । नेपाल स्पिन इभेन्ट प्रालिले आयोजनामा आगामी भदौ २१ देखि २५ गतेसम्म पूर्णशङ्कर श्रेष्ठ दोस्रो राष्ट्रब्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका वडा स्तरका पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्पिन इभेन्ट प्रालिका अध्यक्ष सुमन शाक्यले जानकारी दिनुभयो । 

पूर्णशङ्कर श्रेष्ठले आफ्नै नाममा सञ्चालन गर्न लाग्नुभएको प्रतियोगिताको मुख्य प्रायोजक पनि उहाँ आफै हुनुहुन्छ । जसमा लागि श्रेष्ठले कुल लगानीको ५० प्रतिशत रक अर्थात् सात लाख ५० हजार रुपियाँ खर्च गर्ने बताइएको छ । प्रतियोगिता प्रायोजन सम्बन्धी सम्झौता पत्रमा श्रेष्ठ र स्पिन इभेन्टका अध्यक्ष शाक्यबीच हस्ताक्षर भएको छ । 

नयाँ खेलाडी उप्पादनका लागि प्रतियोगिता आयोजनको लागि सहयोग गरेको श्रेष्ठले बताउनुभयो । यस प्रतियोगितामा राष्ट्रिय वरीयतामा रहेको पुरुष र महिलातर्फ शीर्ष १६औं स्थानसम्मका खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् । 

नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्द बैद्यले नयाँ प्रतिभाको खोलीका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यस प्रतियोगिताबाट दोस्रो राष्ट्रिय टोलीका लागि खेलाडी उत्पादन हुने पनि बताउनुभयो । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, भेट्रान्स पुरुष एकल (४० वर्षमाथि), भेट्रान्स पुरुष एकल (५० वर्षमाथि) र भेट्रान्स पुरुष एकल (६० वर्षमाथि) गरी सात स्पर्धा समावेश गरिएको छ । 

प्रतियोगितामा  पुरुष र महिला एकल विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः ३० हजार र १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पुग्नेलाई जनही ७५ सय रुपियाँ, भेट्रान्सतर्फको विजेता, उपविजेतार र सेमिफाइनलमा पुग्नेलाई क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । टिम स्पर्धामा पदकको शीर्ष तालिकाका रहने वडालाई थप ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अघिल्लो संस्करणमा चार सय ३३ खेलाडीले भाग लिएका थिए ।