• १५ चैत २०८०, बिहिबार

भाषा, साहित्य र संस्कृति प्रवर्द्धनमा प्रतिष्ठानको भूमिका प्रशंसनीय: प्रम देउवा

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतिको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजित राष्ट्रिय कविता महोत्सवमा उहाँले सो कुरा बताउनुभएको हो ।

'प्रतिष्ठानले छ दशक लामो समयमा ज्ञान, विज्ञान, भाषा एवम् सांस्कृतिक क्षेत्रको महत्त्वलाई स्वदेशमा मात्र होइन, बाहिर चिनाउन अग्रणी संस्थाको रुपमा काम गर्दै आएको छ ।', उहाँले भन्नुभयो, 'हाम्रो कला, संस्कृति प्रवर्द्धनका लागि छुट्टै कानुनी व्यवस्थामार्फत प्रतिष्ठान स्थापना भएको हो ।'

प्रधानमन्त्री देउवाले २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि नयाँ रुपान्तरण आएको उल्लेख गर्नुहुँदै विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्याउँदै आएको बताउनुभयो ।

नयाँ रुपान्तरणसँगै बहुजातीय, बहुभाषिक सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरुको एकता बढाउन सिर्जनशील कार्यक्रम प्रज्ञा प्रतिष्ठानले गर्दै आएको छ ।' उहाँले भन्नुभयो ।

देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा योगदान पुर्याउन जोड दिनुहुँदै उहाँले काठमाडौंको मैतीदेवीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माणका विषयमा खुसी प्रकट गर्नुभयो ।

नेपाली बृहत् शब्दकोष डिजिटल प्रणाली  र एप निर्माण र सञ्चालनको कार्य सकारात्मक रहेको पनि उहाँको भनाइ  छ ।

प्रतिष्ठानको यसखाले कार्यमा नेपाल सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुहुँदै प्रधानमन्त्री देउवाले महोत्सवमा सम्मानित एवम् सबैमा बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो ।