• २६ साउन २०८२, सोमबार

धुमधामसाथ मनाइयो साउने पूर्णिमा

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २५ गते । यस पटक साउने (जनै) पूर्णिमा जिल्लाभर धुमधामका साथ मनाउने कार्य भएको छ । धामीझाँक्री नाच्ने र पूजापाठ गरेर जनैपूर्णिमा मनाउने कार्य भएको हो ।

कर्णाली सांस्कृति समाजका अध्यक्ष तीर्थराज रोकायाले पूर्णिमाको दिन मन्दिरमा (माडु) धामीझाँक्री परम्परागत ऊनको बक्खु लगाउने र कपालमा पटुका बेरेर मन्दिर मन्दिरमा पुगेर नाच्ने कार्य भएको बताउनुभयो । एकादशीदेखि एक छाक बेलुका मात्र खाना खाँदै आउनुभएका धामीझाँक्री फूलमाला र रुद्राक्षको मालाले सजिएका थिए । सिमकोट गाउँपालिकाका ठेहे, डाँडाफया, खाद्यक, पाम्बाडा, डाँडाफया, खार्पुनाथ गाउँपालिकाको लाली पिउस, थानी, अदानचुली र ताँजाकोट गाउँपालिकाको झारमाडुमा बिहानैदेखि धामी नाच्ने र पूजापाठ गर्ने क्रम बेलुकासम्म जारी रहेको उहाँले बताउनुभयो । धामी आफ्नो देवताको बाजा अनुसार पालैपालो नाच्ने गर्नुहुन्छ ।

यो पूर्णिमामा बलिदिने चलन पनि रहेको छ । देवता चढेका बेला धामीझाँक्रीलाई बिन्ती चढाए घरमा राम्रो हुने स्थानीयको विश्वास छ । सोही विश्वास अनुरूप स्थानीयले पुरी, दही, काँक्रो चढाउने गर्छन् । जिल्लाभर यसपालिको साउने पूर्णिमामा मात्र ५३६ बोकाको बली दिएको अध्यक्ष रोकायाले बताउनुभयो । धामीहरूले पनि नाच्ने क्रममा हातमा अविर निकाल्ने, मुखबाट दुध निकाल्ले, तातो उम्लेको तेल पिउने, सिङ्गपाती निकाल्ने जस्ता कार्य गर्नुहुन्छ । विशेष गरी कालाशिल्ता, बाडपाल, मष्टो, लुवासर, घण्टपाल, सर्की, समैजीलगायत धामीहरु नाच्ने गर्छन् ।

यो क्षेत्रमा पूर्णिमाको ठुलो महत्व छ । त्यसैले घरबाहिर जानुभएका स्थानीय घरमा आउने र टाढा टाढाबाट पनि रमाइलो हेर्न र पूजापाठ गर्न पनि आउने गर्छन् । धामीलाई घरबाटै घोडा चढ्ने व्यवस्था गरिएको हुन्छ । यसै गरी स्थानीयले चौरी र गाई पनि चढाउनु गर्नुहुन्छ ।

यस पटक पूर्णिमाको अवसरमा सधैँ गाउँदै आएको देउडा राति ११ बजेपछि गाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सो कार्यालयमा बसेको सर्वपक्षीय बैठकले शान्तिसुरक्षाका कारण देखाउँदै रातभर देउडा गाउन नपाउने निर्णय गरेको हो ।