• २६ साउन २०८२, सोमबार

‘द राइजिङ नेपाल’को प्रधान सम्पादकमा गौतम नियुक्त्त, थपलियाको बिदाइ

blog

‘द राइजिङ नेपाल’का नवनियुक्त निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतम (बिचमा) लाई नियुक्तपत्र प्रदान गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । साथमा महाप्रबन्धक लालबहादुर ऐरीलगायत । तस्बिर : शेखर चौलागाई

काठमाडौँ, साउन २५ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘द राइजिङ नेपाल’को निमित्त प्रधान सम्पादकमा विष्णुप्रसाद गौतम नियुक्त हुनुभएको छ । नवनियुक्त निमित्त प्रधान सम्पादक गौतमलाई साउन २६ गते सोमबारदेखि लागू हुने गरी सो जिम्मेवारी तोकिएको हो । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले निमित्त प्रबन्ध सम्पादक गौतमलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी तोकिएको र साउन २६ गतेदेखि लागू हुने गरी सो जिम्मेवारी प्रदान गरिएको उल्लेख गर्नुभएको छ । 

गोरखापत्र संस्थानमा आयोजित एक कार्यक्रममा जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै कार्यकारी अध्यक्ष सुवेदीले गौतमको लामो समयावधिको पत्रकारिता क्षेत्रको अनुभव र क्षमताले ‘दि राइजिङ नेपाल’ दैनिकलाई थप बढी लोकप्रिय, स्तरीय र पठनीय बनाउने विश्वास व्यक्त गर्नुभयो । 

गत वर्ष फागुन १३ गते निमित्त प्रबन्ध सम्पादकको जिम्मेवारी पाउनुभएका गौतमले २०५३ माघमा  सहायक सम्पादकको रुपमा द राइजिङ नेपालमा सेवा प्रवेश गर्नुभएको हो । २०७४ साउनदेखि उहाँ दि राइजिङ नेपालको प्रमुख समाचारदाताको जिम्मेवारीमा रहनुभयो । 

इलामका गौतमले अंग्रेजीसँगै नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । भारतको नयाँ दिल्लीस्थित ‘इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेशन’ बाट विकास पत्रकारितामा डिप्लोमा गर्नुभएका गौतम त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गर्नुभएको छ । 

प्रधान सम्पादक थपलियाको बिदाइ

बिदाइ कार्यक्रममा ‘द राइजिङ नेपाल’का निमित्त प्रधान सम्पादक भीमसेन थपलियालाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरी । 

गोरखापत्र संस्थानले आफ्नो अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको निमित्त प्रधान सम्पादक भिमसेन थपलियालाई बिदाइ गरेको छ । करिब पाँच वर्ष सो जिम्मेवारीमा रहनुभएका थपलिया उमेर हदको कारण आइतबार ५८ वर्ष पूरा गरेकाले सोमबारबाट लागू हुने गरी सेवाबाट अवकास प्राप्त गर्नुभएको हो । 

थपलिया विक्रम २०५२ साल जेठ १४ गते उपसम्पादकको रुपमा दि राइजिङ नेपालमा नियुक्त हुनुभएको थियो । उहाँले ३० वर्ष २ महिना ८ दिन दि राइजिङ नेपालको विभिन्न पदमा कार्यरत रहँदै निमित्त प्रधान सम्पादकको जिम्मेवारीमा लामो समय सेवा गरी अवकास प्राप्त गर्नुभएको हो । 

संस्थानका कार्यकारी अध्यक्ष सुवेदी तथा महाप्रबन्धक लालबहादुर ऐरीले मायाको चिनो र प्रशंसा पत्रसहित उहाँलाई बिदाइ गर्नुभयो । कार्यक्रममा अध्यक्ष सुवेदीले थपलिया भद्र, शालीन र संस्थाको कामप्रति वफादार, मेहिनेती र बहुप्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । 

महाप्रबन्धक ऐरीले शान्त, शालीन र जिम्मेवारीप्रति समर्पित भएर काम गर्ने उहाँको चरित्र प्रेरणायोग्य रहेको बताउनुभयो । 

निमित्त प्रधान सम्पादक थपलियाले गोरखापत्र संस्थान र राइजिङ नेपालको विकासका लागि व्यवस्थापनको तर्फबाट राम्रो सहयोग र समन्वय भएको चर्चा गर्दै व्यवस्थापनप्रति धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा सहभागीले नवनियुक्त्त नि. प्रधान सम्पादक गौतमलाई सफल कार्य अवधिको शुभकामना दिनुहुँदै थपलियाको बाँकी जीवन सुखमय र स्वस्थ रहोस भनी शुभकामना दिनुभयो । 

बिदाइ कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, युवामञ्च मासिकका सम्पादक उमेश ओझा, मधुपर्क मासिकका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्ले, डिजिटल प्रमुख नारदमुनि गौतम, राइजिङ नेपालका नायब कार्यकारी सम्पादक रमेश लम्साल,  योजना विभागका प्रमुख भगीरथ बस्नेत, प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठ, वितरण विभाग प्रमुख ओमप्रकाश भुसाल, अर्थ विभाग प्रमुख राजुकुमार महत, व्यापार विभाग प्रमुख गंगा पन्थीलगायतले थपलियासँगको सहकार्यका बारेमा आ–आफ्नो अनुभव सुनाउनु भयो।