साहारा लिम्बू
फुङलिङ, साउन २६ गते । फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको तेस्रो क्वाटर फाइलनमा सोमबार ललितपुर र भारतबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ ललितपुरको चर्च ब्वाइज क्लब र भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीबिच भिडन्त हुँदैछ ।
आजको विजेताले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीसँगको भेट पक्का गर्नेछ । शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
आइतबार भएको दोस्रो क्वाटर फाइनलमा पोखराको सहारा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुग्ने दोश्रो टीम बनेको छ । यस्तै शनिबार भएको पहिलो उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
अब भोलि हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच आमनेसामने हुँदैछ । यो खेलको विजेताले आगामी विहीबार (साउन २९ गते) हुने दोस्रो सेमिफाइनलमा झापासँगै भिड्ने छ ।
आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा साउन ३१ गते हुँदैछ । गोल्डकपको विजेताले सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान प्राप्त गर्ने छन् ।