• २४ साउन २०८२, शनिबार

बेपत्ता नेपालीको खोजी तिब्र बनाउन मुख्यमन्त्रीको पहल

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ।

सन्तोष दहित 

दाङ, साउन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकारसमक्ष पहल गर्नुभएको छ ।

घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कुटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति ल्याउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न आग्रह गर्नुभएको हो। बुधबार बिहान उत्तराखण्ड राज्यको पौडी जिल्लाको वाकुडा क्षेत्रमा पर्ने बिनु नदीमा आएको बाढी र पहिरोका कारण बर्दिया जिल्लाका चार नेपाली नागरिक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा मधुवन नगरपालिका –६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका –५ की अमृता परियार रहनु भएको छ । उहाँहरू रोजगारीको सिलसिलामा उत्तराखण्ड पुग्नु भएको थियो। मुख्यमन्त्री आचार्यले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्दारको कामना गर्नुभएको छ ।