• २४ साउन २०८२, शनिबार

सर्लाहीमा बस दुर्घटना : १७ यात्रु घाइते

blog

सर्लाहीको बाँके जङ्गलमा दुर्घटनामा बस।तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन २३ गते। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार साँझ बस पल्टँदा १७  जना यात्रु घाइते भएका छन्।

प्रदेश राजधानी जनकपुरबाट सर्लाही सदरमुकाम मलङ्गवाका लागि छुटेको ग १ ख ९४९४ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो।१६ जना घाइतेको लालबन्दीस्थित मोडेल अस्पताल र एक जनाको नवलपुरमा उपचार चलिरहेको इन्स्पेक्टर घिमिरेले जानकारी दिनुभयो।

घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताउनुभएको छ।शुक्रबार साँझपख मुसलधारे वर्षा भइरहेको बेला बस अनियन्त्रित भएर पल्टिएको थियो।

घाइतेलाई तत्कालै पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए।बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठुलो क्षति टरेको लालबन्दीका इन्स्पेक्टर जोहारीले बताउनुभएको छ।