• २५ साउन २०८२, आइतबार

शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठान भवन निर्माण

blog

सहिद नेत्रलाल स्मृति प्रतिष्ठानको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभाका सदस्य प्रकाश ज्वाला।तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, साउन २३ गते। सल्यानमा सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनको उद्घाटन भएको छ। प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले भवनको उद्घाटन गर्नुभयो।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले सहिद नेत्रलाल अभागी बहुआयामिक व्यक्तित्त्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “साहित्यिक, सामाजिक व्यक्तित्व मात्र होइन, मुख्यगरी राजनीतिक व्यक्तिको रूपमा अभागीलाई लिन सकिन्छ।’’

प्रतिष्ठानका संस्थापक ज्वालाले अभागी कम्युनिस्ट राजनीति, प्रगतिशील साहित्यिक लेखन र शिक्षण क्षेत्रमा एक आदर्श व्यक्तित्त्व रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, “कम्युनिस्ट राजनीतिमा बलिदान, समर्पण र अटल विचारधाराका प्रतीकका रूपमा उहाँ रहनुभएको छ ।’’ सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शम्भु गौतमले प्रतिष्ठानमार्फत् अभागीको समग्र सोच, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा उहाँको योगदानको खोज गरी संस्थागत रूपमा विस्तार गरिरहेको जानकारी दिनुभयो।

स्मृति प्रतिष्ठान सल्यान शाखाका अध्यक्ष इन्द्रकुमार शर्माले प्रतिष्ठानमार्फत् रचनात्मक कार्य सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्ष ठकेन्द्रप्रकाश पुरी, सल्यान अध्यक्ष रमेशकुमार गौतम लगायतको उपस्थिति रहेको थियो।

आर्थिक वर्ष २०८१÷८२ मा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, सुर्खेतबाट ८५ लाख र अघिल्लो आवमा कर्णाली प्रदेश सरकारबाट २५ लाख गरेर एक करोड १५ लाख लागतमा भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि शारदा नगरपालिका १५ का रामचन्द्र रेग्मीले जग्गा उपलब्ध गराउनुभएको हो  ।


शहीद नेत्रलाल अभागीको चर्चित कविता ‘सातीसाल मात्र ठिङ उभिन सक्छ’ रहेको छ। नेत्रलाल पौडेल ‘अभागी’को जन्म वि.सं. २००१ पुस २७ गते दाङ जिल्लाको धर्ना गाविस–२ सिसैपुर गाउँमा भएको थियो। अभागीले वि.सं. २०४१ जेठ ६ गते चौलाही, दाङमा शहादत प्राप्त गर्नुभएको हो।

नेपाल सरकारले २०७४ सालमा उहाँलाई शहीद घोषणा गरेको थियो। साथै, २०८० फागुन ४ गते नेपाल सरकारले नेत्रलाल अभागीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको थियो।