• ४ वैशाख २०८१, मङ्गलबार

एन्फाको महासचिवमा राई, कोषाध्यक्षमा जोशी र विदेश विभाग प्रमुखमा पाण्डे मनोनित

blog

सपथग्रहण गर्दै एन्फाका नवनिर्वाचित पदाधिकारी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ८ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र विदेश विभाग प्रमुखमा नविन पाण्डे मनोनित हुनुभएको छ । पंकजविक्रम नेम्वाङ नेतृत्वको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिव, जोशीलाई कोषाध्यक्ष र पाण्डेलाई विदेश विभाग प्रमुखमा मनोनित गरेको हो । 

राई अघिल्लो कार्यसमितिमा प्रवक्ता र जोशी कोषाध्यक्ष नै हुनुहुन्थ्यो । अघिल्लो कार्यसमितिका विदेश विभाग प्रमुखकै भूमिकामा रहनुभएका पाण्डेले बीचमा पद छाड्नुभएको थियो । एन्फा निर्वाचन समितिले बुधबार नै निर्वाचित पदाधिकारीको पद तथा गोपनियताको सपथ गराएको थियो ।

सपथपछि पदभार सम्हाल्दै अध्यक्ष नेम्वाङले निर्वाचनमा हार जित स्वभाविक भएको बताउनुभयो । ‘जिम्मेवारी कर्मा जीबाट हामीमा ट्रान्सफर भएको छ । हामी निर्वाचित भएर आएका छौं। गहन जिम्मेवारी पनि पाएका छौं। त्यसलाई जिम्मेवारीपूर्वक नेपाली फुटबलको विकासमा लागु गर्नेछौं,’ नेम्वाङले भन्नुभयो । सोमबार सम्पन्न एन्फाको २१औं चुनावी साधारण सभामा कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ विजयी हुनुभएको थियो ।

पदभारपछि बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले तीन जना पदाधिकारीको मनोनयनसँगै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असन्तुष्टी जनाउँदै प्रशिक्षण क्याम्प छाडेका राष्ट्रिय टोलीका १० जना खेलाडीलाई टोलीमा फर्काउने, प्रशिक्षक अलमुताइरीको विषयमा छानविन समितिको सुझावसँगै प्रशिक्षक र कतार फुटबल संघसँग छलफल गरेर टुंगो लगाउने, एन्फाका रिक्त रहेका कर्मचारीको पदपूर्ति गर्ने, ३० दिनभित्र भावी कामको स्वेत पत्र जारी गर्ने, दक्षिण एसियाली फुटबल महासंघको आसन्न निर्वाचनमा सुन्दर नरसिंह जोशीलाई उपाध्यक्षमा उठाउने लगायत निर्णय पनि गरेको छ ।