• २२ साउन २०८२, बिहिबार

रुखमा बाँधेर राखेको वृद्धको मृत्यु

blog

सोरेनलाई बाँधेर राखिएको रुख ।

लीलाराज खड्का 

बिर्तामोड, साउन २१ गते । झापा गाउँपालिका–१, लसुनामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि उहाँको मृत्यु भएको छ ।

मङ्गलबार राति १०.३० बजे झापा गाउँपालिका–१, लसुना बस्ने ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवनगरी छिमेकी महादेव टुडूको घरमा आउनुभएको थियो । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीयहरूले घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेको स्थानीयको भनाइ छ । बुधबार बिहान ४ बजे हेर्दा उहाँ मृत अवस्थामा फेला पर्नुभएको थियो । 

घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी प्राप्त हुनासाथ टोली खटिएर घटनामा संलग्न झापा गाउँपालिका–१, लसुना बस्ने मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही ठाउँ बस्ने ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू, २१ वर्षीय लखिराम टुडूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्य फरार व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले  बताउनुभयो ।