धर्बेन्द्र झा
जनकपुरधाम, साउन २१ गते । मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले सामाजिक सुरक्षा तथा बाल संरक्षणको सवालमा प्रदेश सरकारले काम अघि बढाएको बताउनुभएको छ ।
खेलकुद तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेशले युरोपियन युनियन तथा संयुक्त राष्ट्र संघ र युनिसेफको सहयोग तथा लाइफ नेपालको समन्वयमा जनकपुरधाममा गरेको मधेश प्रदेशमा सामाजिक सुरक्षा तथा बाल संरक्षण विषयक संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएकोे हो ।
उहाँले चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा र नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित मधेश प्रदेश सरकारले ऐतिहासिक कदम चाल्दै घरधुरी बिमा र नागरिक बिमा कार्यक्रम साउन १ गतेदेखि औपचारिक रूपमा लागू गरेको जानकारी दिनुभयो ।
मन्त्री जयसवालले पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकहरू बीमाको दायरामा ल्याइएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षाको सवालमा प्रदेश सरकारले सामाजिक सुरक्षा नीतिको साथै समाज कल्याण ऐन ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
उहाँले सामाजिक सुरक्षासँगै बाल संरक्षणको सबालमा प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएको जुन सातवटै प्रदेशमध्ये उक्त ऐन ल्याउने मधेश प्रदेश पहिलो प्रदेश रहेको बताउनुभयो । उहाँले बालिका संरक्षणका लागि प्रदेश सरकारले यसै वर्षदेखि बेटी जिन्दाबाद महाअभियान सञ्चालन गरिरहेको भन्दै यसका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का प्रमुख सचेतक हरिनारायण महतोले समाजिक सुरक्षाको सवालमा विगतका सरकारले संचालन गरेको राम्रा कार्यक्रमहरुलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । जसपा नेपालका प्रमुख सचेतक रामअषिश यादवले बाल बालिकालाई विद्यालय पठाउने अभियानलाई सरकारले प्राथमिकताका साथ हेर्नु पर्नेमा जोड दिनुभयो ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशमा सामाजिक सुरक्षा सन्दर्भ र सम्भावनाको विषयमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।