• २१ साउन २०८२, बुधबार

बानियाँ विद्यार्थी राजनीति हुँदै मुख्यमन्त्रीसम्म

blog

मकवानपुर समाचारदाता

मकवानपुर, साउन २१ गते । देश सङ्घीय संरचनामा गएपछिको दोस्रो आवधिक निर्वाचन सम्पन्न भएको तीन वर्ष पुग्दै छ । सङ्घमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेशमा पनि पर्दै आएको छ । प्रदेशका लागि भएको पहिलो कार्यकालमा जस्तै दोस्रो कार्यकालमा पनि बागमती प्रदेश सरकार निर्माणमा अस्थिरता देखिएको छ । 

राजनीतिक दलभित्रैको अन्तद्र्वन्द्व र सत्ता जोडघटाउका कारण प्रदेश सरकारमा अस्थिरता देखिएको हो । अस्थिरताका कारण बागमती प्रदेशमा पनि कुनै पनि मुख्यमन्त्री र सरकारले पूरा अवधि काम गर्न पाएका छैनन् । मङ्गलबार मात्रै बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको शपथ लिनुभएको छ ।

राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व, कुनै दलको स्पष्ट बहुमत नहुँदा र दल तथा नेता सत्ता र शक्तिकेन्द्रित हुँदाको परिणाम यो अवधिमा बागमती प्रदेशमा छ जना मुख्यमन्त्री बनिसकेका छन् । प्रदेशको पहिलो कार्यकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक कलह र विभाजनका कारण अस्थिरता भोगेको बागमती प्रदेशले दोस्रो कार्यकालमा नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र सत्तामोहले अस्थिरता निम्तिएको छ । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच राजनीतिक स्थायित्वका लागि भन्दै सत्ता साझेदारी भएको थियो तर कांग्रेसभित्रकै विग्रह र विवादले एमाले तथा कांग्रेसबिचको सहमति अनुसार बहादुरसिंह लामा तामाङ नेतृत्वको सरकारले पूरा समय काम गर्न पाएन । 

लामाको कार्यसम्पादन कमजोर र बजेट विवादका कारण कांग्रेसमा नेतृत्व परिवर्तन भएको सतहमा देखिए पनि पार्टीको आगामी महाधिवेशन, पार्टी र राज्यसत्तामा आफ्नो पकडमा राख्ने जोडघटाउका कारण प्रदेश सभाको दोस्रो कार्यकालमा बागमती प्रदेशले तेस्रो मुख्यमन्त्री पाएको छ । कांग्रेसमा प्रदेश सभा संसदीय दलका लागि भएको निर्वाचनमा मुख्यमन्त्री लामा पराजित भएसँगै उहाँमाथि राजीनामा दिन परेको दबाब र पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको आन्तरिक सहमति र आग्रहपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत भएसँगै सत्ता गठबन्धनबाट मकवानपुरका बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री र कांग्रेसबाट मुख्यमन्त्री हुनेमा दोस्रोमा पर्नुहुन्छ । विद्यार्थी राजनीतिबाट राजनीतिमा लागेका बानियाँ विसं २०६४ को संविधान सभा निर्वाचनमा पराजित हुनुभएको थियो । विसं २०७० को संविधान सभामा निर्वाचित भएपछि उहाँ गृह राज्यमन्त्री र पर्यटन राज्यमन्त्री बन्नुभएको थियो । संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका बानियाँ कांग्रेस मकवानपुरको सभापति हुँदै हाल कांग्रेस बागमती प्रदेश समितिको सभापति हुनुहुन्छ । उहाँ २०७४ र २०७९ को प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को (२) बाट निर्वाचित हुनुभएको हो । उहाँ बागमती प्रदेश सभा संसदीय दलको नेताका लागि विसं २०७९ पुस १३ गते भएको निर्वाचनमा कांग्रेसकै बहादुरसिंह लामा तामाङसँग पराजित हुनुभएको थियो । बानियाँ पटक पटकको प्रयासपछि मुख्यमन्त्री बन्नुभएको हो । 

बागमतीमा कांग्रेस र एमालेबिच २०/२० महिना आलोपालोमा सरकारको नेतृत्व गर्ने गरी सहमति बनेको छ । उक्त सहमति कार्यान्वयन भएमा बानियाँ आगामी चैतसम्म मुख्यमन्त्री बन्नुहुने छ र त्यसपछि एमालेले मुख्यमन्त्री पाउने छ । यसअघि मकवानपुरका डोरमणि पौडेल, काठमाडौँका अष्टलक्ष्मी शाक्य, धादिङका राजेन्द्र पाण्डे, धादिङकै शालिकराम जम्कट्टेल र नुवाकोटका बहादुरसिंह लामा तामाङ मुख्यमन्त्री बनिसक्नुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि बानियाँले सबैलाई मिलाएर लैजाने र प्रदेशका नागरिकले अनुभूति गर्ने गरी काम गर्ने बताउनुभएको छ ।