काठमाडौं, साउन २१ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय अनुशासन र आर्थिक विकासमा लेखापरीक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ । साथै उहाँले नेपाल अडिटर्स एशोसिएशन (अडान) को भूमिका सदैव सराहनीय रहेको धारणा व्यक्त गर्नुभएको छ ।
नेपाल अडिटर्स एशोसिएशन (अडान) को २०औं स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा अर्थमन्त्री पौडेलले ज्ञान, सीप र क्षमताको सदुपयोगमार्फत लेखापरीक्षकहरूले राज्यको उत्पादन, उत्पादकत्व वृद्धि र आर्थिक सुशासनमा अझ प्रभावकारी योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले दस्तावेज र प्रमाणमा आधारित बृहत लेखापरीक्षण तथा सूचना प्रविधि र वातावरणमैत्री अडिट प्रणालीको आवश्यकता औंल्याउनुभयो । उहाँले अडानले लेखा पेशाको विकास र वित्तीय पारदर्शिताका लागि गरिरहेको पहल प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा अडान अध्यक्ष बद्री प्रसाद भट्टराईले लेखापरीक्षकहरूको पेशागत हकहितका लागि अडान निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै विगत दुई दशकमा संस्थाले पुर्याएको योगदानबारे प्रकाश पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘वित्तीय सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई संस्थागत बनाउन अडानले देशभर लेखापरीक्षण अभ्यासलाई विस्तार गर्नुका साथै सरकार, नियामक निकाय र पेशागत संघसंस्थासँग सहकार्य गर्दै आएको छ ।’’
स्थापना दिवसका अवसरमा आयोजित दुई सत्रीय कार्यपत्र प्रस्तुत कार्यक्रमको पहिलो सत्रमा ‘नेपालको वित्तीय प्रतिवेदनमान तथा कर सम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव’ विषयमा सिए रोशन सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभयो भने दोस्रो सत्रमा ‘कर कानुन र सहकारी ऐनमा भएका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र भावी चुनौती’ विषयमा सिए प्रविण बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रहरूमाथि नेपाल लेखामान बोर्डका अध्यक्ष सिए सुनिर कुमार ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य बाबुकाजी कार्की, पूर्व कार्यबाहक महालेखापरीक्षक बामदेव शर्मा अधिकारी, एक्यान अध्यक्ष सिए अरुण राउत, अडान द्वितीय उपाध्यक्ष पोषराज नेपाललगायत वक्ताहरूले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा आइक्यानका अध्यक्ष निल बहादुर सारु मगर, उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल, उद्योग परिसंघ अध्यक्ष विरेन्द्र राज पाण्डे, चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष दीपक कुमार मलहोत्रालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले लेखापरीक्षण पेशाको पारदर्शिता, जवाफदेहिता, कर प्रणाली सुधार र निजी क्षेत्रलाई विश्वसनीय आधार प्रदान गर्न अडानको भूमिका उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा आइक्यानका नवनिर्वाचित अध्यक्ष निल बहादुर सारु मगर र उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेलाई सफल कार्यकालको शुभकामना दिइएको थियो ।
पूर्व नायव महालेखापरीक्षक रामबाबु नेपाललाई लेखापरीक्षण क्षेत्रको योगदानका लागि विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको समापनमा अडान वरिष्ठ उपाध्यक्ष डा. डोल प्रसाद दाहालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने अतिथिहरूको साथमा केक काट्दै २०औं स्थापना दिवस ‘अडान डे’ सम्पन्न गरिएको थियो ।