• २२ साउन २०८२, बिहिबार

स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं : मुख्यमन्त्री आचार्य

blog

कार्यक्रमको उदघाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

सन्तोष दहित

दाङ, साउन २१ गते  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवर्धनबाट रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका –३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरू प्रयोग गर्न आह्वान गर्नुभयो ।

‘हामीले प्रयोग गर्ने अधिकांश कपडाहरू स्वदेशमा बनेका होइनन्, म सबैलाई आह्वान गर्न चाहन्छु, हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूले स्वदेशमै, लुम्बिनी प्रदेशमै उत्पादन भएका सामग्रीहरू प्रयोग गर्न अपिल गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘बाहिरबाट आएका कपडालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन भएका कपडाहरू प्रयोग गरेर अगाडि बढ्न जरुरी छ ।’

लुम्बिनी प्रदेशमा मात्र होइन, देशका कुना–कुनामा यहाँ उत्पादन भएका कपडाहरूको बजार विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो ।‘ उद्यमी तथा व्यवसायीको साथमा सरकार छ । घरमा बेरोजगार भएर बस्ने होइन, स्वरोजगार बन्न तालिम लिने, खाली समयको सदुपयोग गर्दै उत्पादनमा जोडिन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘यो उद्योगले उत्पादन खरिद गर्ने छ र श्रमको मूल्य पनि उद्योगले नै दिनेछ ।’

व्यवसायी कृष्ण खनालले कपडा उद्योग स्थापना गर्नुभएको हो । सो उद्योगमा हाल स्थानीय ३० जना महिला तथा पुरुषले रोजगारी पाएका छन् । खाली समय घरमा बस्नुभन्दा सीप सिकेर उद्यममा जोडिदा महिलाहरु उत्साहित भएका छन् । स्थानीय सामग्री प्रयोग गरी कपडा बुन्ने तान निर्माण गरिएको र महिलालाई तालिम प्रदान गरी उद्योगमा रोजगारी दिइएको जानकारी उद्योग सञ्चालक खनालले दिनुभयो । महिलाहरूले धोती, सारी, ब्लाउज, सलजस्ता सामग्रीहरू बुन्दै आएका छन् ।