सुर्खेत, साउन २१ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना निर्माण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले कर्णाली प्रदेशको सम्भावना, साधन–स्रोतको उपलब्धता र लक्ष्य समेटिएको गुरुयोजना तयार गरी त्यसअनुरूप तीन तहका सरकार तथा विकास साझेदारहरूलाई परिचालन गर्न सकेमा कर्णालीको विकासले तीव्र गति लिन सक्ने बताउनुभयो ।
उपसभापति खड्काले कृषि, फलफूल, जडीबुटी, जलविद्युत्, पर्यटन, पूर्वाधार, संस्कृतिलगायतका पक्षलाई समेटेर गुरुयोजना बनाइनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘स्रोत, सम्भावना र लक्ष्यसहितको गुरुयोजना बनाउन सक्यौं भने मात्रै कर्णालीको द्रुत विकास सम्भव छ । गुरुयोजनाको लक्ष्यअनुसार तीन तहका सरकार र विकास साझेदारहरूलाई केन्द्रित गर्न सकिन्छ ।’’
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका खड्काले कर्णाली भूगोलमा ठूलो भए पनि छरिएर रहेका बस्तीका कारण प्रत्येक नागरिकको घरसम्म आधारभूत आवश्यकता पुर्याउन समय लाग्ने भएकाले ती बस्तीलाई एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कर्णालीमा ठूलो र आधुनिक शहरको सम्भावना कहाँ छ ? नदी किनारमा बस्तीको सम्भावना कहाँ छ ? पहाडमा दुई–तीन घर छन्, त्यहाँ बाटो, बिजुली, खानेपानीजस्ता सुविधा पुर्याउन कठिन हुन्छ । त्यसैले छरिएर रहेका बस्तीलाई एकीकृत गर्दै विकास पूर्वाधार तथा अन्य सेवा–सुविधा पुर्याउने लक्ष्य गुरुयोजनामा समावेश गर्नुपर्छ ।’’
उपसभापति खड्काले कर्णाली प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको जानकारी आफूले पाएको उल्लेख गर्दै त्यस्तो सम्मेलन अघि सम्भावित लगानी क्षेत्रहरूको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय लगानी सम्मेलन फेसनजस्तो बनेको छ । प्रदेश सरकारले लगानी सम्मेलन गरिरहेका छन् तर विस्तृत सम्भाव्यता अध्ययनबिना आयोजना सार्वजनिक गर्दा वास्तविक लगानी आउँदैन । आयोजनाको नाम टिपेको भरमा लगानी जुट्दैन ।’’
उपसभापति खड्काले पूर्व–पश्चिम धावनमार्ग नहुँदा, दुईतर्फी उडान र अवतरण गर्ने सुविधा नहुँदा सामान्य झरीमा समेत विमान नआउने समस्याका कारण सुर्खेत विमानस्थलको सन्दर्भमा नयाँ प्रस्ताव राख्दा अनावश्यक विवाद सिर्जना भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले बताउनुभयो, ‘‘नागरिक उड्डयन प्राधिकरणसँग अहिलेको विमानस्थल विस्तारको विषयमा छलफल हुँदा उत्तर–दक्षिणतर्फ जति विस्तार गरे पनि ठूलो जहाज अवतरण गर्न नसकिने निष्कर्ष आएको छ । वैकल्पिक विमानस्थल बनाउन पहल गर्दा पनि अनावश्यक विवाद सृजना भइरहेको छ ।’’
उपसभापति खड्काले कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक छैन भन्ने निर्णयमा पुगेको हो भने स्पष्ट निर्णय गरेर विषय टुंगो लगाउनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यदि कर्णालीलाई ठूला जहाजका लागि विमानस्थल आवश्यक छैन भन्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गरेर ‘च्याप्टर क्लोज’ गर्नुपर्छ, आवश्यक हो भने प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो काम अघि बढाइनुपर्छ ।’’
प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको दीर्घकालीन समग्र गुरुयोजना आवश्यक रहेको बताउनुभयो । उहाँले पञ्चवर्षीय योजना निर्माण गरेर कार्यान्वयन भइरहे पनि समग्र गुरुयोजना बनाउन नसकिएको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘समृद्ध कर्णाली र सुखी कर्णालीबासी भन्ने दीर्घकालीन सोचलाई पूरा गर्न गुरुयोजना निर्माणमा जुट्न आवश्यक छ ।’’