अविनाश चौधरी
धनगढी, साउन २१ गते। लगातार कोसिस र लामो प्रतिक्षा पश्चात माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएका कैलालीका ५६ वर्षीय भागीराम चौधरीले यस वर्ष कक्षा १२ पनि उत्तीर्ण हुनुभएको छ।
२०७९ सालमा ३० औँ पटकको प्रयासमा एसइई उत्तीर्ण गर्नु भएका उहाँले आफू कार्यरत कैलारी गाउँपालिका–६ गदरियास्थित जनता माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गर्नु भएको हो। चौधरी सो विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आउनु भएको छ। उहाँले आफू काम गरिरहेकै विद्यालयबाट एसइई पनि उत्तीर्ण गर्नु भएको थियो।
मिहिनेती चौधरीले कक्षा १२ उत्तीर्ण गरेर विद्यालय परिवारलाई खुशी बनाएको शिक्षक यामु शर्माले बताउनुभयो। उहाँले चौधरी सबैका लागि प्रेरणाका स्रोत रहेको उल्लेख गर्नुभयो।
कक्षा १२ पास भएपछि खुशी हुनु भएका चौधरीले समयले साथ दिएमा स्नातक अध्ययन गर्ने बताउनुभयो। त्यसको तयारीमा लाग्ने उहाँको भनाइ छ। चौधरी २०५२ सालदेखि जनता माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुुहुन्छ।
उहाँले २०४८ सालदेखि हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिन सुरु गर्नुभएको थियो। लामो समयसम्म सफलता हात नलागे पनि उहाँले हार मान्नु भएको थिएन।