• १२ वैशाख २०८१, बुधबार

संघका अध्यक्षसहित ११ जना प्रहरी नियन्त्रणमा

blog

लीलाराज खड्का

बिर्तामोड, असार ८ गते । झापाको बिर्तामोडस्थित बुधबारे हटियाका व्यवसायीलाई विजुलीको मिटर दिनुपर्ने माग राखेर आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्षसहित ११ जनालाई बुधवार इलाका प्रहरी बिर्तामोडको प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सन्तोष उप्रेती, राधिका चुडाल, कल्पना पुरी, संगीता न्यौपाने, तुलसा तामाङ, निरु अधिकारी, एकता कडरिया विष्ट, नरबहादुर विकलगायत रहनुभएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

प्रक्राउ परेका व्यापारी नेतालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोड नगरपालिका अगाडि विरोध प्रदर्शन गर्दै आन्दोलनकारीहरु नगरपालिकाभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

प्रदर्शनका क्रममा केहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताउनुभयो । बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने माग राखेर वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा केही दिनदेखि आन्दोलन जारी रहेको छ । 

आन्दोलनकारीले बिर्तामोड नगरप्रमुख पवित्रा महतरालाई समेत दुव्र्यवहार गरेको भन्दै संघकोविरुद्धमा समेत स्थानीय आन्दोलित बनेपछि बिर्तामोड नगरपालिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।