• ५ वैशाख २०८३, शनिबार

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

blog

शिक्षा विकास तथा समन्वय इकाइ लमजुङ । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, बैशाख ५ गते । लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा पठाइएको छ । 

उत्तरपुस्तिका परीक्षण कार्य चैत २९ गते सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा पठाइएको हो । जिल्लाको १३ वटै परीक्षा केन्द्रमा तोकिएको समयसीमा भित्रै उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजाका लागि पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख दिवाकर शर्माले बताउनुभयो । 

परीक्षालाई मर्यादित, विश्वसनीय र पारदर्शी बनाउन यस वर्ष विषयगत शिक्षक र सम्परीक्षकलाई परिचालन गरी ‘रि–चेकिङ’ (पुनः परीक्षण) प्रक्रियालाई विशेष प्राथमिकता दिइएको थियो । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार विद्यार्थीले वर्षभरी गरेको मेहनतको सही मूल्याङ्कन होस् भन्ने उद्देश्यले शान्त र अनुशासित वातावरणमा परीक्षण कार्य सम्पन्न गरिएको हो ।

यस वर्ष लमजुङमा एसईई परीक्षार्थीका लागि १३ वटा परीक्षा केन्द्रमा कूल दुई हजार आठसय १७ जना विद्यार्थी सहभागी भएका थिए । नियमिततर्फ दुई हजार दुईसय ७९ र ग्रेड वृद्धितर्फ पाँचसय ३८ परीक्षार्थी रहेका थिए । जसमध्ये ४२ जना प्राविधिक धारतर्फका रहेका थिए । 

गत वर्ष जिल्लामा १६ वटा परीक्षा केन्द्र निर्धारण भएकोमा यसवर्ष १३ वटा मात्र केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । साविक परीक्षा केन्द्र परेका विद्यालयमध्ये यस वर्ष चारवटा केन्द्र हटाइएको थियो भने एउटा थप गरी १३ वटा केन्द्र कायम गरिएको थियो ।