• २२ साउन २०८२, बिहिबार

गाँजीपुर राजनीतिक पर्यटकीय स्थल बन्दै

blog

चितवन समाचारदाता

चितवन, साउन २१ गते । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदन भण्डारीको शव भेटिएको पश्चिम चितवनको गाँजीपुरलाई राजनीतिक ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको छ । भरतपुर महानगरपालिका–१७ मा रहेको यस क्षेत्रमा मदन भण्डारीको सालिक तथा उहाँको राजनीतिक जीवनबारे उल्लेख गरिएका सामग्री राखिएको छ । त्यसै गरी यस स्थानबाट नारायणी नदी, नदीपारिको नवलपरासीका विभिन्न स्थान, चितवनको सेतीदेवी सामुदायिक वन, ग्रामीण बस्तीलगायतका स्थान हेर्नका लागि भ्यु टावर निर्माण गरिएको छ । 

बागमती प्रदेश सरकारको ५५ लाख रुपियाँको लगानीमा गत आर्थिक वर्ष २०८१/८२ मा वाटर फाउन्डेसन, मोजाइट टायल बिछ्याउने, जग्गामा पर्खाल लगाउने, जग्गाको संरक्षण जस्ता कार्य गरिएको हो । मदन स्मृति पार्कका अध्यक्ष बुद्धिमान लामाले यस क्षेत्रको संरक्षण र पर्यटकीय स्थलका रूपमा विकसित गरिएको जानकारी दिनुभयो । “गत आवमा हामीले प्रदेश सरकारको लगानीमा केही पूर्वाधार निर्माण गरेका छौँ,” उहाँले भन्नुभयो, “यसले थप आकर्षक बनाएको छ ।”


पार्कले १४ कट्ठा जग्गा संरक्षण गरेर राखेको छ । त्यस स्थानमा आगामी वर्ष बालउद्यान निर्माण गर्ने तयारी गरेको उहाँले बताउनुभयो । “महानगरभित्र बालबालिकालाई खेल्नका लागि उचित पार्क नभएको महसुस गरेर हामीले यस स्थानमा मनोरञ्जनात्मक पार्क निर्माण गर्ने भएका छौँ,” उहाँले भन्नुभयो । बालउद्यानका लागि जग्गा संरक्षण गरेर राखिएकाले केही महिनापछि निर्माणको काम थालिने लामाले भन्नुभयो । खुला र नारायणी नदीको चिसो हावा लाग्ने भएकाले गर्मी महिनामा स्थानीय र जिल्लाबाहिरका पर्यटकको भिड लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार मदन स्मृति पार्कमा अहिले भ्यु टावर, वाटर फान्डेसन, गोलघर, मदन स्मृति सभा हल, व्यवस्थित बस्ने स्थानलगायतका संरचना निर्माण भइसकेको छ । सार्वजनिक कार्यव्रmम, गतिविधि तथा वनभोजलगायतको कार्यव्रmम धेरै हुने गरेको अध्यक्ष लामाले बताउनुभयो । 

नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमलराज पाठकले यो पार्क एमालेका तत्कालीन महासचिवको स्मृतिमा निर्माण भए पनि सबैको साझा सम्पत्तिका रूपमा रहेकाले यसको गरिमा बढेको बताउनुभयो । “यो एउटा राजनीतिक ऐतिहासिक क्षेत्र हो,” उहाँले भन्नुभयो, “यस क्षेत्रको संरक्षण र विकासमा हामीले ध्यान दिएका छौँ ।” 

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा. विश्व सुवेदीले महानगरको पर्यटकीय क्षेत्रमध्ये महìवपूर्ण पर्यटकीय स्थानका रूपमा गाँजीपुर रहेको बताउनुभयो । भण्डारीको शव भेटिएको स्थान मात्र नभएर यो ठाउँबाट नारायणी नदीको सुन्दर दृश्य देख्न सकिन्छ, यस क्षेत्रनजिकै रहेको वनजङ्गलमा वन्यजन्तु हेर्न सकिने भएकाले पनि यसको महìव बढेको उहाँको भनाइ छ ।