• ११ वैशाख २०८१, मङ्गलबार

ओलम्पिक दिवसमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलाडीलाई सम्मान

blog

ओलम्पिक दिवसमा सम्मानित हुने पहिलो पुस्ताका खेलाडीलगायत । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, असार ८ गते । नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीले ओलम्पिक दिवसको अवसरमा बुधबार नेपालगञ्जमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा बाँकेका पहिलो पुस्ताका खेलाडीहरु अशोकजंग थापा, अजितकुमार शर्मा, रतनकुमार टण्डन, सच्चिदानन्द चौवे, विश्वनाथ चौवे, विष्णुमान श्रेष्ठ, फजल अब्बास रिज्वी, गोवर्धनसिंह सम्झना, गोविन्द श्रेष्ठ, राकेश श्रीवास्तव र शान्ति सिंह रहनुभएको छ । 

नेपाली सेना श्री नं. ४ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी उत्तमकुमार बिष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, निवर्तमान सदस्य सचिव भीम ओली र नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले अग्रज खेलाडीहरुलाई खादा, माला र कदरपत्रले सम्मान गर्नुभयो । 

सम्मानित हुनुभएका सबैजना आफ्नो समयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागी भइसकेका खेलकर्मी हुनुभएको स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष टीएस ठकुरीले बताउनुभयो ।  

सम्मानित हुनुभएका नेपाली खेलकुदका कुशल प्रशासक अशोकजंग थापाले पाँच दशक अघि मोफसलका खेलाडीले राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउनु पर्दा व्यक्ति व्यक्तिसँग पैसा उठाएर प्रतियोगितामा भाग लिन जानुपर्ने अवस्थाबारे बताउनुभयो । 

ओलम्पिक दिवसको अवसरमा विविध कार्यक्रम गर्ने बाँके जिल्ला साइक्लिङ सङ्घ, पौडी सङ्घ, ब्याडमिन्टन सङ्घ, भलिबल सङ्घ, तेक्वान्दो डोजाङलगायतलाई सोही अवसरमा मायाको चिनो प्रदान गरिएको थियो ।