टोपलाल अर्याल
रेसुङ्गा, साउन १८ गते । कालीगण्डकी करिडोर अन्तर्गतको सखडक खण्डमा पुनः तीन ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आइतबार बिहानदेखि अवरुद्ध करिडोर दिउँसो अवेर खुलेको थियो ।
सडक सञ्चालन भएको दुई घण्टा नहुँदै कालिगण्डकी वडा १ हर्मिचौर, वडा २ को अर्वेनी र वडा ३ को जयखानी क्षेत्रमा पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
त्यस्तै, रिडी रुद्रवेणी सडकको सडक पनि अवरुद्ध भएको छ । गुल्मेलीले जिल्लाका मुख्य सडक पटक–पटक अवरुद्ध हुँदा धेरै पटक सास्ती खेपेको बताएका छन् ।
जिल्लामा मुख्य सडक एक बर्षमा सुक्खा ११ र बर्षाका कारण पहिरो जाँदा ४७ पटक गरेर ५७ पटक बाटो अवरुद्ध भएको छ । करिडोरपछि धेरै पटक अवरुद्ध हुने सडक रिडी–रुद्रवेणी–वामी सडक रहेको छ । सत्यवति गाउँपालिका –६ को डहरेमा पानीको बहाब बढेपछि अहिले फेरि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।