• १८ साउन २०८२, आइतबार

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको उपलब्धि सार्वजनिक

blog

कार्यप्रगतिबारे जानकारी गराउँदै स्वास्थ्यमन्त्री खेमबहादुर सारु ।

गणेश खनाल

अर्घाखाँची, साउन १८ गते । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आज स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिएको जनाएको छ । 

बार्षिक नीति तथा कार्यक्रम, घोषणापत्र एवं कार्यक्रमले परिलक्षित गरेअनुरुप २०८१–८२ मा स्वास्थ्य मन्त्रालयको ८६.५१ ५ वित्तिय प्रगति, १२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास भई हाल २७ प्रतिशत भौतिक प्रगति भएको प्रगतिमा उल्लेख छ । आर्थिक सुविधा अन्तर्गत क्यान्सर, मुटुको भल्व फेर्ने र मिर्गौला प्रत्यारोपण उपचारको सिफारिस भालुवाङको सट्टा जिल्लास्थित स्वास्थ्य कार्यालयमार्फत गर्ने व्यवस्थालार्इ मुख्य उपलब्धिको रूपमा लिइएको छ ।

पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मन्त्रीपरिषदबाट पारित गरी कार्यान्वयन भइरहेको, ९ वटा विभिन्न नियमावली, निर्देशिका र कार्यविधि स्विकृति तथा परिमार्जन गरिएको स्वास्थ्यमन्त्री सारूले बताउनुभयो । 

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना र ३० स्थानीय तह पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएको, आर्थिक वर्षमा भएको मन्त्रीले बताउनुभयो । त्यस्तै, ३ हजार ८५१ बिरामीलाई विशेष आर्थिक सुविधा उपलब्ध गराएको उहाँको भनाइ छ ।