• १६ असार २०८१, आइतबार

आँगनमै खानेपानी पाउँदा भुरचौरबासीलाई राहत

blog

भेरी नगरपालिका १० भुुरचौरमा लिप्टमार्फत् घर आँगनमै पानी

वासुदेव शर्मा

जाजरकोट, असार ८ गते । जाजरकोटको भेरी नगरपालिका १० भुरचौरबासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । गत वर्षदेखि सञ्चालित लिप्ट खानेपानी आयोजनाको पानी घर आँगनमै पाउँदा भुरचौरबासी खुसी भएका हुन् । 

पुस्ताैँदेखि भेरी नदीको धमिलो पानीमा जीवन निर्वाह गरेका स्थानीयबासी स्वच्छ सफा पानी पाउँदा निकै हर्षित भएका छन् । पानी लिन डोको नाम्लोको सहारामा घण्टौं हिँडेर भेरी नदीको धमिलो पानी खाने गरेका नागरिक घर आँगनमै पानी पाउँदा घरायसी काममा सहजता आएको स्थानीय तेजकुमारी चन्दले बताउनुभयो । 

पानी पाएपछि १३५ घरपरिवार बसोबास गर्दै आएको भुरचौरमा पानीको पिरलो हटेको स्थानीय महेन्द्रबहादुर शाहीले बताउनुभयो । खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । 

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटबाट भुरचौरमा लिप्ट खानेपानी आयोजनाको लागि ४० लाख, चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष बीरबहादुर शाहीले ७५ प्रतिशत काम सम्पन्न भएर २५ प्रतिशत काम बाँकी रहेको केही समयमा सबै काम सम्पन्न हुने बताउनुभयो ।