• १९ असार २०८१, बुधबार

छ महिनामा मानवअधिकार उल्लङ्घनका नौ घटना

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङमा पछिल्लो छ महिनाको अवधिमा मानवअधिकार उल्लङ्घनका नौवटा घटना भएका छन् । यस अवधिमा मानव हत्या, जबरजस्ती करणीजस्ता मानवअधिकार उल्लङ्घनका घटना भएका हुन् ।

जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अर्धवार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै गत पुसको दोस्रो सातायता असार पहिलो साताभित्र मानवअधिकार उल्लङ्घनबारे प्रतिवेदन सार्वजनिक गरेको हो । ताप्लेजुङका इन्सेक प्रतिनिधि देवराज गुरुङले प्रतिवेदन सार्वजनिक गर्दै छ महिनाको अवधिमा छवटा करणीका घटना, एउटा स्वास्थ्यकर्मी दुव्र्यवहार, एक मानव हत्या र एक ज्येष्ठ नागरिक अङ्गभंगको घटना रहेको जानकारी दिनुभयो ।

केही बालबिज्याइँका घटना, हाडनाता करणीजस्ता घटनासमेत पाइएकाले सचेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने इन्सेक प्रतिनिधि गुरुङले बताउनुभयो । आफ्नै परिवारको सदस्यको संलग्नतामा मानव हत्याको घटना भएको उहाँले जानकारी दिनुभयो । घटनाको संलग्नता र अवस्थालाई हेर्दा नागरिक आफैँ सचेत हुनुपर्ने र मानवअधिकारको संरक्षण गर्न तथा दण्डहीनताको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यक भएको उहाँको भनाइ छ ।

समीक्षा कार्यक्रममा फुङ्लिङ नगरपालिकामा प्रमुख अमिर मादेनले मानवअधिकारको विषय सबैको साझा विषय भएकाले यसको रक्षाका लागि सबै संवेदनशील र जिम्मेवार हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मानव अधिकारको विषयमा वकालत गर्न सबैले हातमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दलका प्रतिनिधि, मानवअधिकारकर्मीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।